काठमाडौं मंसिर । नेपाली कांग्रेसका नेता बलबहादुर केसी सोलुखुम्बुबाट लगातार दोस्रो पटक पराजित भए । २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गर्दा पराजित भएका केसी यसपटक नेकपा माओवादी केन्द्रसँग कांग्रेसले गठबन्धन गर्दा पनि पराजित भए ।
केसी पक्षले भने पार्टीभित्रैबाट असहयोग भएकाले चुनाव हारेको आरोप लगाएको छ । केन्द्रीय सदस्य आङ्गेलु शेर्पा र जिल्ला सभापति नामगेल जाङ्बु शेर्पाले असहयोग गरेको केसीका स्वकीय सचिव बेदप्रसाद बनले बताए ।
जिल्लाबाट प्रत्यक्षमा केसीको नाम सिफारिस नभएपछि उनले असन्तुष्टि व्यक्त गरेका थिए । केन्द्रीय सदस्य आङ्गेलु र जिल्ला सभापति नामगेल जाङ्बु पार्टीभित्र संस्थापन पक्षका हुन् ।२०७४ सालमा केसी माओवादीका केन्द्रका हेमकुमार राईसँग पराजित भएका थिए । यसपटक केसी एमालेसँग पराजित भए । माओवादी केन्द्रले संघीय सांसदमा उम्मेदवार नपाएपछि केसीको पक्षमा सक्रिय सहयोग नगरेको केसी पक्षको बुझाइ छ ।
सोलुखुम्बुमा स्थानीय तहको मतमा कांग्रेस पहिलो दल बनेको थियो । कांग्रेसको पक्षमा १९ हजार ६८ मत थियो । एमालेले १६ हजार ५९७ मत ल्याएको थियो । तेस्रो शक्ति माओवादी केन्द्रको १२ हजार ४२५ मत थियो । ‘हराउनका लागि बकाइदा प्रमाण छ । गठबन्धनलाई हराऔं अभियानमा लागेका मेसेजहरु छन्’ बनले भने ।
बिहीबार सार्वजनिक मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् ।
उनले सत्ता गठबन्धनका तर्फका उम्मेदवार केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाए । पहिलो र तेस्रो शक्ति मिल्दा समेत केसी पराजित भएका छन् ।
ADVERTISEMENT

