नेपालगञ्ज मंसिर। बुधवार मध्यान्ह चीलसँग ठोकिएर क्षति पुगेको तारा एयरको जहाजको मर्मतका लागि प्राविधिक टोली सिमकोट पुगेको छ । सिमिकोट पुगे लगत्तै क्षति पुगेको भागको मर्मत कार्य समेत प्राविधिक टोली शुरु गरेको हो ।
तारा एयर सिमकोटका सहायक इन्चार्ज नुर्वु लामाले प्राविधिक जनक तामाङको नेतृत्वमा सात सदस्यीय टोली बिहीबार बिहानै नेपालगञ्जबाट सिमकोट पुगेको बताए । उनले टोली सिमकोट आई पुगे लगत्तै जहाजको नोजभित्र रहेको चीललाई निकालि मर्मत कार्य सुरु गरेको बताए ।
प्राविधिक टोलीले जति सक्दो चाँडो क्षति पुगेको जहाजको मर्मत कार्य हुने जनाएको छ । बुधवार सर्केगार्ड र अदानचुली गाउँपालिकाको सीमानामा पर्ने मनेलेक क्षेत्रमा तारा एयरको ट्विनअटर विमान चीलसँग ठोक्किँदा जहाजको अग्र भागमा क्षति भएको थियो ।
नेपालगञ्जदेखि हुम्लाको सिमकोट विमानस्थलका लागि कार्गो उडान भरेर गईरहेको जहाजमा चील ठोकिएको थियो । तारा एयरको नाईन एन–एकेल कलसाईन भएको जहाज बुधवार दिउँसो १२ः४५ बजे सिमकोट विमानस्थलमा अवतरण गर्न दुई मिनेट बाँकी रहँदा जहाज चीलसँग ठोक्किएको हो ।
पाइलट, को–पाइलट र एयर होस्टेज गरी तीनजना सवार जहाज सिमकोट विमानस्थलमा सकुसल अवतरण गरेको थियो ।
ADVERTISEMENT