काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) अन्तरगत रहेका राष्ट्रिय समितिका इन्चार्जहरुको बैठकले पहिचानमा आधारित राष्ट्रिय समितिलाई कार्यकारी बनाउन माग गरेको छ ।
सोमबार बालकुमारीमा बसेको १०+१ को राष्ट्रिय समितिका इन्चार्जहरुले बैकल्पिक राजनीतिक दलको सांगठनिक संरचना अन्य राजनीतिक दलहरु जस्तै ७ प्रदेशका आधारमा हुन नसक्ने भन्दै पहिचानमा आधारित राष्ट्रिय समितिलाई कार्यकारी बनाएर जानुपर्ने निष्कर्ष निकालेको हो । यस अघि सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकमा पहिचानमा आधारित राष्ट्रिय समितिलाई कार्यकारी बनाउने माग गर्दै करिब २०० केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाइएको थियो ।
यस विषयमा समितिको प्रतिनिधिमण्डलले केही दिनमै विधान मस्यौदा समितिलाइ ज्ञापन पत्र बुझाउने तयारी गरिरहेको जनाइएको छ । जसपाको विधान अधिवेशन नजिकिँदै गर्दा सांगठनिक संरचनाबारे विभिन्न फोरमहरुमा छलफलहरु अगाडि बढाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। हाल जसपाको विधानले ७ प्रदेशलाई कार्यकारी हैसियत प्रदान गरेको छ ।

