नेपालगञ्ज :बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा युवा महिलाहरुको रोजगारी प्रवर्धनकालागि स्थानीय अवसर, संभावना तथा आगामी प्राथमिकता विषयमा एकदिने संवाद कार्यक्रमको आयोजना गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवाद कार्यक्रम आयोजना गरिएको हो ।सो संवाद कार्यक्रममा स्थानीय तहमा रोजगारी सृजना गर्नका लागि स्थानीय सरकारका प्रतिनिधि, अभिभावक र परियोजना सहभागिहरुविच गहन छलफल तथा विचारविमर्श गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए ।
कार्यक्रमको अध्यक्षता गर्दै गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतमले युवा महिलाहरुको रोजगारी प्रवर्धनका लागि नगरपालिकाले विभिन्न योजना बनाउने तथा उनिहरुलाई पनि समान अवसर प्रदान गरिने बताइन् । उनले महिलाको आर्थिक शसक्तीकरणका लागि नगरपालिकाले हर प्रकारको सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाइन् ।
संवाद कार्यक्रममा नगरपालिकाको उद्यम विकास शाखा प्रमुख थिरनाथ कँडेलले नगरपालिकाबाट सञ्चालन हुने आयआर्जन सम्बन्धि कार्यक्रमलाई सहकारीसंग लिंक गराएर महिलालाई अवसर प्रदान गरिने बताए ।महिला तथा बालबालिका शाखा प्रमुख शिला शाहले लघुकर्जामा आम महिलाको पहुँच पुर्याउनका लागि समन्वय र सहयोग गरिने बताए ।
उद्योग बाणिज्य संघ बर्दियाका वरिष्ठ उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठले आयआर्जन र रोजगारमुलक कार्यक्रम सञ्चालनमा उद्योग वाणिज्य संघको पुर्ण सहयोग र समर्थन रहने बताए ।कार्यक्रममा वडाध्यक्षहरु प्रकाश चौधरी, जोगिराम थारु, सुरेश गौतम, विष्णु यादव, रतन ठकुरानी, सुधान्सु प्रकाश शर्मा, नगरपालिकाका रोजगार सहायक अमृत बोहोरा लगायत विभिन्न शिप तालिम लिईरहेका तालिमका सहभागि र अभिभावक गरेर ४० जनाको सहभागिता रहेको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले बताए ।संवाद कार्यक्रमको सहजीकरण सहजकर्ता मुकुन्द अर्यालले गरेका थिए । यसअघि सोही प्रकारको संवाद कार्यक्रम बर्दियाको ठाकुरबाबा नगरपालिकामा पनि आयोजना गरिएको थियो ।
ADVERTISEMENT