भ्रष्टाचार छानबिन गर्ने हो भने सबै नेता पालैपालो जेल जान्छन् : विप्लव
zeenepal
२०८० बैशाख १०,
6
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भ्रष्टाचार छानबिन गर्ने हो भने समकालीन सबै नेता जेल जाने दाबी गरेका छन् ।आइतबार शिक्षा पत्रकार समूहले गरेको शिक्षा बहस कार्यक्रममा उनले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको बताए ।मैले आरोप लगाएको होइन नेपालका मान्छेहरु यदि छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाँदैनन् ? सबै जान्छन् नि पालोपालो । उसले उसलाई लगाउँछ, उसले उसलाई लगाउँछ उहाँहरु (नेताहरु) को कुरा हो । तर सबैलाई अर्ब भन्दा कमको चार्ज छैन नि । अहिले सरकारमा भएका हुन् या बाहिर बसेका हुन् । त्यो साँचो कुरा हो’, उनले भने ।
०६४/०६५ पछि राजनीतिमा विकृति देखिएको भन्दै उनले विद्यार्थी संगठनको अध्यक्ष बन्ने चाहने नेताले काठमाडौंमा घरको सपना देख्ने बताए । ‘त्यो विद्यार्थीहरुको दोष होइन पार्टीको दोष हो । विद्यार्थीहरुले त सिक्ने हो । नकारात्मक पनि सिक्ने हो । सकारात्मक पनि सिक्ने हो । सकारात्मक सिकेर बलिदानीतिर गएको भए त्यसरी नै विद्यार्थीहरु तयार हुन्थे’ विप्लवले भने ।
महासचिव विप्लवले राजनीतिक क्षेत्रमा भ्रष्टीकरण हुनुले अन्य सबैजसो क्षेत्रमा असर परेको बताए । ‘राजनीतिक क्षेत्रमा भ्रष्टीकरण सुरु भएपछि त्यसले सबैतिर हानेको छ ।अहिले विद्यार्थी संगठनमा पनि त्यो पसेको साँचो हो । कुनै पार्टीको अध्यक्ष निस्किएर आफ्नो विद्यार्थीलाई भन्न सक्छ तिमी भ्रष्टाचार नगर भनेर ? कहिँ प्रशिक्षण सुन्नुभएको छ तपाईहरुले कुनै नेताले दिएको छ भ्रष्टाचार नगर भनेर अहिले ? कसैले दिन सक्दैन’ विप्लवले भने । उनले आफ्नो पार्टी र संगठनहरुमा भ्रष्टाचार नभएको दाबी गरे ।