काठमाडौँ । मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनपछि दोस्रो ठुलो दल बनेको नेकपा एमालेले बनाएका चार प्रदेश सरकारमध्ये तीन वटा प्रदेश सरकार ढलेका छन् । सत्ता समीकरणमा आएको फेरबदलसँगै एमाले नेतृत्वमा बनेको केन्द्रदेखि प्रदेश सरकारहरू समेत धमाधम ढल्न पुगेका हुन् ।एमालेको नेतृत्वमा गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कोसी प्रदेश सरकार बनेका थिए । गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा लीला गिरी र सुदूरपश्चिममा राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए भने कोशीमा हिक्मत कार्की थिए । तर सोमबारसम्म आइपुग्दा अधिकारी, गिरी र रावल नेतृत्वका तीन वटा प्रदेश सरकार ढलिसकेका छन् । चारमध्ये अव एमाले नेतृत्वमा कोसी प्रदेश सरकार मात्र बाँकी छ ।
आफू नेतृत्वको सरकार बनाएबाहेक एमालेले मधेस, बागमती र कर्णालीमा माओवादी तथा जसपालाई सरकार बनाउन सहयोग गर्दै आफू पनि सहभागी भएको थियो । यी प्रदेशमा सत्ता सहकार्यबाट समेत एमाले बाहिरिइसकेको छ ।सुदूरपश्चिमबाट ढल्न सुरु भएको एमाले नेतृत्वका प्रदेश सरकार गण्डकी हुँदै लुम्बिनी पुगेको छ । सुदूरपश्चिममा एमाले नेतृत्वको रावल सरकार ढलेपछि कांग्रेस माओवादीले मिलेर कांग्रेसको नेता कमलबहादुर शाह नेतृत्वको सरकार बनिसकेको छ । यता गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भने नयाँ सरकार गठन भैसकेका छैनन् । गण्डकी र लुम्बिनीमा पनि कांग्रेसले नै सरकार बनाउन चाहेको छ । लुम्बिनीमा कांग्रेस नेता डिल्ली चौधरीले सरकारको दाबी गर्दै प्रदेश प्रमुखलाई सांसदहरूको हस्ताक्षर बुझाइसकेका छन् । गण्डकीमा भने कांग्रेस र माओवादी दुवैले सरकारको नेतृत्वका लागि आकांक्षा देखाएका छन् । तर प्रदेशका नेताहरू केन्द्रको निर्णय कुरेर बसेकाले कसको नेतृत्वमा सरकार बन्ने भन्ने निश्चित भैसकेको छैन ।

