दाङ । सरकारले घोराही–तुलसीपुरको चार लेन सडकको ठेक्का तोडेको छ । भारतीय निर्माण कम्पनीले चार वर्षदेखि अलपत्र पारेको घोराही–तुलसीपुर सडक ठेक्का रद्द गरेर नयाँ प्रक्रिया अघि बढाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।
सोमबार आफ्नो निर्वाचन क्षेत्र दाङको एक कार्यक्रममा शर्माले भनिन्, ‘चार लेन सडक निर्माणको सम्झौता भर्खरै खारेज भएको छ । केहीदिनभित्रै सूचना पनि आउँला ।’ उनले ठेक्का तोडिएपछि अब सरकारले सडक मर्मत र निर्माण गर्ने बाटो खुलेको पनि बताइन् ।
नयाँ ठेक्का लगाउने काम छिट्टै सुरु गर्ने पनि मन्त्री शर्माले जानकारी दिइन् ।नयाँ टेन्डरको लागि समय लाग्ने बताउँदै उनले त्यसअघि सडक डिभिजन कार्यालयले सडक मर्मत सम्भारको काम अघि बढ्ने बताइन् ।भारतीय एक्जिम बैंकको सहयोगमा उक्त सडक निर्माण गर्ने जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर चार वर्षमा सडकको प्रगति जम्मा १० प्रतिशत छ । चार वर्षदेखि सडक अलपत्र परेको भन्दै सांसद तथा जनप्रतिनिधिहरुको चर्को आलोचना हुँदै आएको छ ।