काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु विरुद्ध चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् ।नक्कली भुटानी शरणार्थी प्रकरणको बाढी एमालेतिर खन्याउन खोजिएको उनको दाबी छ । पछिल्लो पटक संसदमै पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा सुनको साटो पित्तल राखेको भन्नु गैरजिम्मेवारीको हद भएको उनले बताए ।
‘नेपालीहरुलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने धन्दामा केही व्यक्ति सामेल रहेछन् । यसमा को–को सामेल छन्, अदालतमा केस भएकाले म धेरै भन्न चाहन्नँ’ एमाले अध्यक्ष ओलीले भने, ‘तर यो सम्पूर्ण हिसाबले एमालेतर्फ बाढी खन्याउन खोजियो मिडिया, सामाजिक सञ्जाल आदि इत्यादिमा ।सरकारको नीति तथा कार्यक्रममा कमजोरी देखाउँदा आफूविरुद्ध सत्तारुढ सांसदले गैरजिम्मेवार टिप्पणी गरेको उनले बताए ।उनले भने, ‘एक जना माओवादी सांसदले रोष्टममा उभिएर बोल्दा कोभिडको औषधिमा २ अर्ब केपी ओलीले खायो । कहाँ गयो त्यो ? पशुपतिमा सुनको जलहरी चलाउँछु भनेर पित्तलको जलहरी चलाएर भ्रष्टाचार गर्यो भनेर बोले ।’
त्यो भनाइ अनुत्तरदायी मात्र होइन, गैर जिम्मेवारको हद भएको उनले बताए । ‘रकम दिएपछि सुन कि पित्तल ट्वाक ट्वाक पार्न गएको थिएँ म ?’ उनले भने, ‘यस्ता यस्ता मान्छेहरु संसदमा पुगेका छन् कि कुनै सामाजिक मर्यादा पनि नबुझ्ने !’यसलाई लिएर संसद अवरुद्ध भएको भन्दै उनले भने, ‘हुनैपर्छ संसद अवरुद्ध किनभने यस्तो वकवास … एउटा जँड्याहाले जाँड खाएको तालमा पनि यस्तो बोलेर हिंड्दैन ।’
संसद जस्तो गरिमामय ठाउँमा आधारहीन, जनतामा भ्रम पार्ने कुरा गरिएको उनले बताए । उनले भने, ‘कि त पुष्टि हुनुपर्यो, पुष्टि हुने त सम्भावनै छैन, नेकपा एमाले, त्यसमा पनि मैले जसले जिन्दगीभरि भ्रष्टाचार अभियान चलाएर आएको छु, त्यही मान्छेविरुद्ध, यो त इमानका शत्रुहरुले गर्ने काम हो ।’कोही पनि इमानदार छैन भनेर देशप्रतिकै वितृष्णा जगाउनु देशद्रोही काम भएको उनले बताए ।
ADVERTISEMENT

