काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई अझै प्रभावकारी र सफल बनाउन गम्भीर रूपमा आत्मसमीक्षा गर्ने बेला आएको टिप्पणी गरेका छन् । शुक्रबार इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसरमा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई सम्मान व्यक्त गर्दै उपप्रधानमन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
प्रहरी संगठनलाई अझै प्रभावकारी र सफल बनाउन अझै गम्भीर रूपमा आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ,' श्रेष्ठले भने, 'देश र जनतालाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने छ । जनताले पहिलो सरकारसँग भेट्ने व्यक्ति वा पात्र प्रहरी नै हो । नेपाल प्रहरीले जनता र देशको सेवामा केन्द्रित गर्ने गरी काम गरे सरकारको सफलता देखिने छ ।प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीले जेठ २ गते सगरमाथाको सफल आरोहण गरेका थिए । इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसर पारेर नेपालीले सगरमाथाको सफल आरोहण गरेका हुन् । उनी जेठ २ गते १०:१५ बजे सगरमाथाको शिखरमा पुगेका थिए ।

