काठमाडौं । वैदेशिक रोजगारीका लागि गएका नेपालीलाई प्रयोग गरेर सुन तस्करी गराएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।कतारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने कामदारलाई प्रयोग गरेर सुविधाको ५० ग्राम वापतको सुन ल्याएर संकलन गर्ने गिरोहलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले समातेको हो ।कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार प्रहरीले विमानस्थलबाट धनुषाका सुनिलकुमार महरा, सिरहाका दिनेशकुमार यादव, कपिलवस्तुका सन्तु मुलाम मुराउ, धनुषाका नरेश पञ्जियार र बाँकेका भुमबहादुर वलीलाई ८२८ ग्राम सुनसहित पक्राउ गरेर अनुसन्धान थालेको थियो ।
उनीहरुसँग सुन लिन आउने सप्तरी घर भइ सिनामंगल बस्ने विनोदकुमार शाह, उनकी श्रीमती सञ्जुकुमारी शाह, सप्तरीका दुर्गाप्रसाद यादव र देवानन्द शाह पक्राउ परेका थिए । डा. केसीका अनुसार, शाहको सिनामंगलमा बी हिमालयन स्पायर नामक होटल छ । त्यही होटलमा विदेशी कामदारले ल्याएको सुन संकलन हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरी अधिकृतहरु बताउँछन् ।प्रहरीका अनुसार शाहको खातामा मात्रै ४१ करोड रुपैयाँभन्दा बढी कारोबार रहेको फेला परेको छ । पक्राउ परेका दुर्गा यादवले मुख्य नाइके सिराहाका शिवसुन्दर राउतलाई पैसा पठाउने गरेको पाइएको छ ।
देवानन्दले विनोदको खातामा रकम डिपोजिट गरेको अनुसन्धानबाट देखिएको अधिकृतहरु बताउँछन् ।प्रहरीले मुख्य नाइके राउतलाई सिराहाबाट पक्राउ गरेको छ । उनको खातामा एक अर्ब ९७ करोडभन्दा बढी कारोबार देखिएको छ । सिराहाबाटै पक्राउ परेका मोहनकुमार यादवले शिवसुन्दरको खातामा रकम हाल्ने र झिक्ने काम गर्ने गरेको प्रहरीको भनाइ छ ।अधिकृतहरुका अनुसार यो गिरोहका लागि सुन ल्याइदिएवापत कामदारहरुलाई कम्तिमा १० हजार रुपैयाँसम्म दिने गरेको पाइएको अधिकृतहरु बताउँछन् । प्रहरीका अनुसार उनीहरुले एउटै फ्लाइटमा २० जनासम्मलाई सुविधाको सुन बोकाएर पठाएको पाइएको छ ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।