निर्वाचन आयुक्तले जनप्रतिनिधिको चरित्र हत्या गर्नुभयो, माफी माग्नुपर्छ : प्रदीप यादव
zeenepal
२०८० श्रावण १०,
6
Shares
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई माफी माग्न आग्रह गरेका छन् ।आफूहरुले समयमा नै चुनाव खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेपनि प्रमुख आयुक्त थपलियाले खर्च विवरण सार्वजनिक नगरेको भन्दै विज्ञप्ति निकालेको भन्दै माफी माग्न आग्रह गरेका हुन् ।प्रमुख आयुक्त थपलियाले जनप्रतिनिधिको चरित्र हत्या गरेको भन्दै उनले माफी नमागे मानहानीको मुद्दा लगाउने वा महाअभियोग लगाउने चेतावनी दिए ।
‘जनप्रतिनिधिको चरित्र हत्या गर्ने गरी प्लानमा, डिजाइनमा प्रमुख आयुक्तले विज्ञप्ति जारी गर्नुभएको छ । जबकी हामीले समयमा नै खर्च विवरण बुझाएका छौं, जिल्ला निर्वाचन कार्यालयमा यसको लेखोट छ र हामीले आफ्नो फेसबुकमार्फत र सामाजिक सञ्जालमार्फत खर्च विवरण सार्वजनिक गरेका छौं ।’
प्रमुख आयुक्तले जानीजानी र कानुनको आफैं ब्याख्या गरेर जनप्रतिनिधिको चरित्र हत्या गरेको यादवले आरोप लगाए । ‘यो खेदजनक छ । त्यसैले म यो सदनमार्फत प्रमुख आयुक्तजीलाई माफी माग्न अनुरोध गर्दछु । उहाँले माफाी माग्नुभएन भने त्यस्ता प्रमुख अयाुक्तलाई बाध्य भएर कि त मानहानीको मुद्दा ठोक्नुपर्छ अथवा महामभियोग लगाउनुपर्छ’ यादवले भने ।