काठमाडौँ — माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । केन्द्रीय समिति बैठकस्थल प्रज्ञा भवनबाट बाहिरिँदै बिहीबार सञ्चारकर्मीसँग कुराकानीका क्रममा उपाध्यक्ष महराले सुन प्रकरणमा आफू सामेल नभएको र यस विषयलाई राजनीतिक रङ दिइएको बताए ।
उनले पछिल्लो समय माओवादी विरुद्धमा लगातार प्रचार सुरु गरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे ।महराले आजै बिहान पनि फेसबुकमार्फत सुन प्रकरणमा आफू संलग्न नभएको बताएका थिए । उनले आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।पूर्वसभामुखसमेत रहेका महरा र छोरा राहुल ९ किलो सुन तस्करीमा जोडिए पनि अनुसन्धान हुन सकेको छैन ।