काठमाडौं । गोरखाको पालुङटार नगरपालिकाले शिक्षक सरुवाको सहमति दिन विभेद गरेको एक शिक्षकले गुनासो गरेका छन् । पालुङटारबाट चितवनको भरतपुर महानगरपालिकामा सरुवा हुन चाहेकी शिक्षक विमला गिरीले आफूलाई सरुवा सहमति नदिएको गुनासो गरेकी छन् ।
‘पालिकाले इकाइ (शिक्षा विकास तथा समन्वय इकाइ) लाई पठाएको पत्रमा बोधार्थसमेत दिन मिल्दैन भन्नुहुन्छ, तर यस अघिकालाई दिइसक्नुभएको छ । कसैलाई दिन मिल्ने, कसैलाई नमिल्ने हुन्छ र ?’ उनले प्रश्न गरिन् ।सरुवा भई जान भरतपुर महानगरपालिकाको विद्यालयबाट सहमति लिइसकेको तर पालुङटारले सहमति नदिएपछि शिक्षक गिरी समस्यामा परेकी छन् ।
भरतपुर महानगरपालिकाको शिक्षा ऐनमा आफ्नो पालिकामा सरुवा भई आउने शिक्षकले सम्बन्धित पालिकाबाट सहमति लिनुपर्ने व्यवस्था गरेको छ । पालुङटारले पनि यसअघि भरतपुर नै सरुवा भएका शिक्षकलाई सहमति दिएको तर आफूलाई विभेद गरेको शिक्षक गिरीको गुनासो छ ।
यसअघि पालुङटारले इकाइलाई पठाएको सहमति पत्रमा शाखा अधिकृत पोखरेलकै हस्ताक्षर छ । तर अहिले शिक्षा ऐनले सरुवा सहमति दिने अधिकार शिक्षा विकास तथा समन्वय इकाइलाई रहेको उनले दाबी गरे ।
भरतपुर महानगरपालिकाले पालुङटार नगरपालिकाबाट सरुवा भई आउने शिक्षकलाई पालिकाको पत्र अथवा पालिकाले शिक्षा विकास तथा समन्वय इकाईलाई पठाउने सहमति पत्रमा पालिकालाई बोधार्थ उल्लेख गरेको पत्र ल्याउन भनेको थियो ।सोही अनुसार एक शिक्षकले पालुङटार नगरपालिकाले शिक्षा विकास तथा समन्वय इकाईलाई पठाएको सहमति पत्रमा पालिकालाई बोधार्थ उल्लेख गरेको पत्र लिएर आएपछि पालिकाले सरुवा भई आउने सहमति दिएको जनाएको छ ।
यसअघि पालुङटारले इकाईलाई पठाएको सरुवा सहमति पत्रमा महानगर शैक्षिक महाशाखालाई बोधार्थ उल्लेख गरेको आधारमा शिक्षक सरुवा भई आएको सहमति पत्र बुझेको भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका उप-सचिव महेन्द्रप्रसाद पौडेलले बताए ।
उनले भने ‘पालिकाले व्यक्ति अनुसार कसैलाई दिने कसैलाई नदिने दोहोरो व्यवस्था त हुँदैन होला ?’ भरतपुरले पालिकाको शिक्षा ऐन अनुसार सरुवा भई आउने शिक्षक सबैलाई पालिकाको सहमति पत्र अथवा महानगरलाई बोधार्थ गरिएको पत्र अनिवार्य गरेको छ ।पालुङटारले व्यक्ति अनुसार व्यवहार गर्दा आफू समस्यामा परेको शिक्षक गिरीको भनाइ छ । पालुङटार नगरपालिकाकी उपमेयर बन्दना पाण्डेले यो विषयमा जानकार नभएको तर कानुन सबैलाई समान रुपमा लागु हुने प्रतिक्रिया दिइन् ।
ADVERTISEMENT

