संसद अवरोध अन्त्य गर्ने निष्कर्ष निस्किन्छ : राजेन्द्र लिङ्देन
zeenepal
२०८० भाद्र ३,
3
Shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएको बताएका छन् आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सत्तापक्ष र प्रतिपक्ष दुबैको जित हुने गरी समाधान खोज्ने सहमति भएको जानकारी दिए ।‘छलफल सहमतिको नजिक पुगेको छ । भोलि फेरि बैठक बस्छ र संसदको अवरोधको अन्त्य गर्ने निष्कर्ष निस्किन्छ । बीचको बाटो निकाल्ने भन्ने छ । सरकार र प्रमुख प्रतिपक्ष लचिलो भएको छ’ उनले भने, ‘अहिले भइरहेको अनुसन्धान पनि प्रभावित नगर्ने र प्रतिपक्षको मागलाई पनि सम्बोधन गरेर जाने बाटो हुनसक्छ ।’
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन सञ्चालन गर्ने विषयमा सकारात्मक छलफल भएको बताए । ‘भोलि एकपटक पुनः बैठक बसेर पर्सि तीन बजेसम्म रोक्ने र त्यसपछि संसद अघि बढाउने सहमति छ’ उनले भने ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ६० किलोग्राम सुन २ साउनमा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सो घटनामा गृहमन्त्री र अर्थमन्त्रीकै संलग्नता रहेको भन्दै नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग राखेर १० साउनदेखि संसद अवरोध गरिरहेको छ ।संसदको अवरोध खुलाउन आइतबार प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बोलाएका थिए । तर बैठकले संसद खोल्ने विषयमा सहमति जुटाउन सकेन ।