काठमाडौँ । वीर अस्पतालका निर्देशकबाट हटाइएका डा. सन्तोष पौडेलले पुनर्वहालीको माग राख्दै दायर रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ । स्वास्थ्य मन्त्रीको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी अथा अवस्थामा कामकाज गर्न दिन दायर रिट न्यायाधीश फुयालको इजलासमा परेको हो । वीर अस्पतालको निर्देशक पदमा कार्यरत डा.सन्तोष पौडेललाई स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतको एकल निर्णयबाट हटाएपछि उनी पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । मंसिर १८ गते दायर हालसम्म ५ पटक पेसीमा चढेको भएपनि चारपटक हेर्न नभ्याउनेमा परेको थियो ।
स्वास्थ्यमन्त्री बस्नेतले गत मंसिर १४ गतेको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई वीर अस्पतालको निर्देशक पदबाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए । तर आफूलाई बिनाकारण हटाइएको भन्दै मन्त्रकिो निर्णय बदर गरी पूरा कार्याकाल कामकाज गर्न दिन माग गर्दै पौडेल मंसिर १८ गते सर्वोच्च अदालत पुगेका थिए ।
मंसिर २० गते पहिलो पेसी तोकिँदा न्यायाधीश नहकुल सुवेदीको इजलासमा हेर्न नभ्याउनेमा परेको थियो । त्यसपछि मंसिर २१ गते न्यायाधीश सुष्मालता माथेमा, मंसिर २५ गते न्यायाधीश विनोद शर्मा, मंसिर २६ गते न्यायाधीश प्काश कुमार ढुङ्गानाको इजलासमा परेकामा सबै पेसी हेर्न नभ्याउनेमा परेको थियो ।शुक्रबार न्यायाधीश नहकुल सुवेदीको इजलासमा पेसी तोकिएपनि शुक्रबारसमेत हेर्न नभ्याउने सम्भावना बढी रहेको छ ।

