काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गरेका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेता पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताएका हुन् ।\
निर्वाचन परिणामले माओवादी केन्द्रको एजेन्डा जनताले रुचाएको पुष्टि भएको प्रतिक्रियासमेत उनले दिए । नेता पुनले पार्टीको अपेक्षा अझै धेरै जित्ने भए पनि आन्तरिक मतभेद मिलाउन नसकिएकाले अझ राम्रो हुन नसकेको उनको भनाइ थियो । ‘हाम्रो पार्टीको तर्फबाट भन्दा उत्साहजनक छ । धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे । हामी निर्णायक शक्ति हौँ । हामी स्थापित शक्ति हौँ । हाम्रो एजेन्डा देशमा स्थापित छ । त्यो एजेन्डा जनताले रुचाएको छ भन्नेकुरा पुष्टि भएको छ । अपेक्षा योभन्दा अझ राम्रो थियो । तर हाम्रो कतिपय ठाउँमा उम्मेदवार मिलाउने, आन्तरिक मतभेद मिलाउनेमा हामी सकेनौँ । नत्र योभन्दा राम्रो हुन्थ्यो ।’
नेता पुनले स्थानीय तह निर्वाचनमा २५ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको उल्लेख गर्दै गठबन्धन सफल भएको बताए । केही ठाउँमा माओवादीलाई मत नहालिएको भए पनि धेरै ठाउँमा गठबन्धन सफल भएको उनको भनाइ छ । गठबन्धनको औचित्य अझै रहेको भन्दै नेता पुनले प्रदेश र केन्द्रको निर्वाचनसम्म गठबन्धन जाने बताए।
‘कतिपय ठाउँमा नहालेको पनि देखियो । तर धेरैजसो ठाउँमा गठबन्धन सफल नै भएको छ । यो प्रतिगमनविरुद्ध, लोकतन्त्र रक्षाका लागि, संविधानको रक्षाको लागि, देशलाई राजनीतिक स्थायित्वका लागि गरिएको गठबन्धन हो । यस अर्थमा यसको औचित्य अझै पनि छ । हामी एउटा निर्वाचनको लागि मात्रै गठबन्धन गरेको होइन । हामी प्रतिगमन रोक्न सफल छौँ । राजनीतिक स्थायित्वका लागि सफल छौँ । संविधानको रक्षाका लागि सफल छौँ । अहिले स्थानीय निर्वाचनमा मूलत: सफल भएको छ । हामी यो गठबन्धन अगाडि लैजान्छौँ । केन्द्र, प्रदेशमा पनि जान्छ गठबन्धन,' उनले भने ।
उनले अहिले पनि २५ प्रतिशत पालिकामा मात्रै गठबन्धन भएकाले हार जितको कारण यही हो भन्न नमिल्ने उनको भनाइ थियो । उनले भने, 'अहिले खासमा त २५ प्रतिशत मात्रै हो गठबन्धन गरेको । त्यसैले हामीले यसलाई यही कारणले हारेको वा यही कारणले जितिएको भन्न मिल्दैन । पार्टीहरुका आ–आफ्ना स्ट्रेन्थहरु छन् । आ–आफ्ना संगठनहरु छन् । आ–आफ्ना एजेन्डा छन् । मूल कुरो पार्टीका आफ्नो शक्ति नै हो । र गठबन्धन एक चौथाइ मात्रै भयो । त्यसमा मूलत: सफल भएको छ ।’

