काठमाडौं । पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् ।विश्वविद्यालय स्थापनाका लागि डा. जगमान गुरुङको संयोजकत्व रहेको समितिको मंगलबार बसेको बैठकमा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन् ।गत चैतमा गठित समितिको हालसम्मको प्रगति विवरण माग्दै मन्त्री किरातीले आफूले मन्त्रालय स्तरबाट गर्नु पर्ने समन्वय र पहलबारे सुझाउन समेत समितिलाई आग्रह गरेका हुन् ।समितिका सदस्यले हाल अध्ययन, अनुसन्धानसँगै मस्यौदाको चरणमा रहेको बताएका छन् ।
यस विश्व विद्यालयमा कम कक्षा र बढी अनुसन्धान गराइने प्रारुप तयार गरिएको अर्का सदस्य डा. प्रेमबहादुर खत्रीले जानकारी दिए ।नेपालमुखी अनुसन्धान, धर्म, शास्त्र र संस्कृतिलाई विश्वमै स्थापित गर्ने गहन संस्थाका रुपमा यस विश्व विद्यालयलाई स्थापना गरिने खत्रीले बताए ।विश्वविद्यालय गुठी अवधारणामा चल्ने, कुनै पनि विश्वविद्यालयलाई यसले सम्बन्धन नदिने, निश्चित प्रक्रिया पूरा गरेपछि स्नातक उत्तीर्ण गरेका विद्यार्थीलाई भर्ना गर्ने समितिका अर्का सदस्य कमल ढकालले बताए ।यस अवधारणाले नेपाल, पशुपति र हिन्दुहरुको गौरवको विषय भएकोले कुनै प्रकारको ढिला सुस्ती नगर्न क्षेत्र विकास कोषलाई निर्देशन दिए ।
ADVERTISEMENT

