मधेशवादी भनिएका दलहरू समाप्त हुने बाटो: राजेन्द्र महतो
zeenepal
२०८० पुष १०,
6
Shares
राजविराज — लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले मधेशवादी भनिएका दलहरू समाप्त हुने बाटोमा रहेको बताएका छन् । नेता महतोले जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकार छोडेर संघर्षमा नआए समाप्त हुने तथा नया शक्तिको उदय हुने बताएका हुन् ।
सप्तरीको राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता महतोले मधेश आन्दोलनलाई राज्यले अपराधीकरण गरिरहेको र त्यो सरकारमा मधेशवादी पार्टी सामेल रहनुले उनहरूले समाप्तिको बाटो रोज्नु जस्तै रहेको बताए । नेता कार्यकर्तामाथि मधेश अन्दोलनकै कारण आजीवन कारावास भइरहँदा एकथान मन्त्रीका लागि सतामा टाँसिइरहनु मधेशवादी दलहले समाप्तिको बाटो रोज्नु जस्तै भएको महतोको भनाइ छ ।
मधेश आन्दोलनका क्रममा महोतरीमा भएको सुरक्षाकर्मीको हत्याको विषयमा अभिराम शर्मासहितलाई आजीवन कारावाससहितको सजाय भइरहँदा मधेशवादी दल चुप लागेर बस्नु मधेश आन्दोलनलाई अपराधीकरण गर्ने र्फको सरकारी सोचमा समर्थन गर्नु रहेको महतोको भनाइ छ ।
मधेश आन्दोलन तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा भएको थियो,’ नेता महतोले भने,‘मधेश आन्दोलनमा लागेकाहरूलाई मुद्दा लगाएर आजीवन कारावास हुँदै गर्दा आह्वानकर्ता दल र तिनका नेताको चुप्पी शंकास्पद छ ।नेता महतोले झापा विद्रोह, र माओवादीको ‘जनयुद्ध’ लाई विद्रोह मान्ने तर मधेश आन्दोलनलाई अपराध मान्ने काम भए मधेशमा नयाँ शक्तिको उदय हुने पनि चेतावानी दिए । महतोले आफ्नै पार्टी लोसपालाई ‘लोसे पार्टी’को संज्ञा दिए । लोसपामा आन्तरिक संघर्ष चर्किएको उल्लेख गर्दै भने, ‘लोसपालाई अब मान्छेले लोसे पार्टी भन्न थालिसकेका छन् ।’