नागरिकको अवस्था परिवर्तनका निम्ति सरकार अहोरात्र खटिरहेको छः मन्त्री गुरुङ
zeenepal
२०८० पुष १५,
3
Shares
काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरूङले सरकार नागरिकको अवस्था परिवर्तनका लागि अहोरात्र खटिरहेको बताएकी छन् ।आईतवार काठमाडौंको टुडिखेलमा आयोजित तमु ल्होसार महोत्सव–२०८० लाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकार नागरिकको अवस्था परिवर्तनको निम्ति अहोरात्र खटिरहेको बताएकी हुन् । उनले नागरिकको बढ्दो असन्तुष्टि र नकारात्मक टिप्पणीहरुप्रति सरकार सजग रहेको बताइन् । यनले केही भएको छैन र केही हुँदैन भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै विगतका दिनहरुमा भन्दा अहिले राम्रो हुँदै गइरहेको बताइन् । उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशि सहभागिता जोगाउने चुनौति रहेको पनि बताइन् ।
उनले भनिन्, ‘नेपाल बहुजाति, बहुभाषि, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो । यसखालको विविधता नै नेपालको छुट्टै पहिचान हो । परिचय हो । नेपालको सम्पति हो । नेपालका हरेक जातजातिको आफ्नै पहिचान र परम्परा छन् । सांस्कृतिक मूल्य र मान्यता छन् । हाम्रो पुर्खाले यसलाई सदिऔँदेखि जोगाएर हाम्रो काँधमा आइपुगेको छ । नागरिकको तर्फबाट, समुदायको तर्फबाट र राज्यको तर्फबाट हामी सबैले धार्मिक र सांस्कृतिक सम्पदा र संस्कृतिलाई यसरी नै जोगाएर लान सकौँ । राज्य सबैको अभिभावक हो र हुनुपर्दछ । विगतमा पक्कैपनि असमानताहरु थिए । र हाम्रो असन्तुष्टिहरु पनि थिए । तर आज परिस्थिति फेरिएको छ । केही न केही राज्यको तर्फबाट नागरिकका आवाजहरुलाई सुनिएका छन् ।
अधिकार सम्पन्न संविधान बनाइएको छ । यसलाई अझ सशक्त बनाउन हाम्रो माग र अधिकारहरुलाई सुनिश्चित गराउन, हामीले लडेर ल्याएको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशि सहभागिता जोगाइराख्ने हाम्रो विचमा ठुलो चुनौती छ । त्यसैले आजका दिनमा संविधानलाई संस्थागत गर्न हामी सबैले साझा संकल्प र सबैले साथ दिन जरुरी छ । नागरिकको अवस्था परिवर्तनको निम्ति सरकार अहोरात्र खटिरहेको छ । हामीले व्यवस्था परिवर्तनको निम्ति धेरै संघर्ष ग¥यौँ । अब संविधानलाई कार्यान्वयन गराउँदै आम नागरिकको जीवन र नागरिकको अवस्थालाई परिवर्तन गर्न लागि परिरहेको छ । नागरिकको बढ्दो असन्तुष्टि र नकारात्मक टिप्पणीप्रति पनि सरकार सजग छ । तर केही भएको छैन, केही हुँदैन भन्ने भाष्य गलत छ । हिजोभन्दा राम्रो पक्कै भएको छ ।’मन्त्री गुरुङले नेपालको सांस्कृतिक मूल्य र मान्यताहरुलाई बचाउनुपर्नेमा जोड दिइन् । उनले धार्मिक र सांस्कृतिक सम्पदा र संस्कृतिलाई जोगाएर लानुपर्ने बताइन् ।