काठमाडौं । मिटरब्याजी भनेर चिनिने सर्लाहीका श्याम परदेशी (श्यामकरण साह)ले सम्पत्ति शुद्धीकरणको अभियोगमा सफाइ पाएका छन् विशेष अदालतले उनीमाथि लगाइएको सम्पत्ति शुद्धीकरणको अभियोग पुष्टि हुन नसक्ने ठहर सहित उनलाई सफाइ दिएको हो ।उनीमाथि २० साउन २०७९ मा गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसहित पत्नी मञ्जु देवी, छोरी इला, ज्वाइँ रामबाबु प्रसादका नाममा मुद्दा चलाएको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीमाथिको आरोप स्थापित हुन नसक्ने ठहर गरेको हो ।परदेशीमाथि सर्लाहीमा मात्रै करिब ३ सय परिवारलाई ऋण दिएको आरोप थियो । फर्जी कागजात बनाउने, ऋण फिर्ता गर्दा समेत तमसुक नच्यात्ने र नक्कली तमसुक च्यातेर सक्कली लुकाउने अनि पछि मुद्दा हाल्ने गरेको कारण धेरै नै स्थानीयबासिन्दा र ऋणीहरु उनीबाट पीडित भएको आरोप छ । उनीमाथि एक करोड ५३ लाख रुपैयाँ विगो माग दाबी थियो ।