काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताएका छन् । छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले २०४६ सालको परिवर्तनपछि नेपालको स्वास्थ्य क्षेत्रले ठुलो फड्को मारेको बताएका हुन् ।स्वास्थ्य क्षेत्रमा केहीपनि भएको छैन भन्न मिल्दैन, बिस्तारै सुधार गएको र छ थप सुधार हुँदै जानेछ’, उनले भने । उनले छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताल स्थापनाका लागि तत्कालिन मन्त्री स्वर्गीय गणेशमान सिंह र क्षेत्रपाटी क्षेत्रका जनताको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गरे ।
छत्रपाटी चिकित्सालयको जमिन तत्कालीन नगरपालिकासँग कुरा गरेर सरकारले चिकित्सालयलाई उपलब्ध गराउन गणेशमान सिंहको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । उक्त चिकित्सालयले क्षेत्रपाटी क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न लाग्नुपर्नेमा उनले जोड दिए ।कार्यक्रममा सो चिकित्सालयमा पाँच र दश वर्ष अनवरतरुपमा सेवा प्रदान गर्ने कर्मचारी र सेवा निवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो ।

