
प्रमुख सचेतक गिरीले भने, ‘सडक व्यापारलाई मर्यादित ढंगले, सडकलाई पनि मर्यादित बनाउन सकियोस् । भद्रगोल पनि नहोस् । अव्यवस्था पनि नहोस् । सडक कुरुप पनि नबनोस् । तर सँगसँगै यसलाई मर्यादित र व्यवस्थित गर्नसक्ने हो भने हाम्रो जस्तो सानो इकोनोमी भएको, अहिलेको जुन आर्थिक स्थिति छ । यस्तो बेलामा सानोसानो पुँजीलाई लिएर मान्छेले आत्मनिर्भरताको बाटो लिइरहेका बेलामा यो एउटा अर्थतन्त्रको महत्त्वपूर्ण पाटो बन्नसक्छ । तर यसलाई नीतिबाट गाइड गर्नु पर्यो । विधिबाट गाइड गर्नुपर्यो । कानुनद्वारा व्यवस्थित गर्नुपर्यो ।
यसतर्फ सोच्नुपर्छ तीन वटै तहको सरकारले भन्ने मलाई लाग्छ ।कार्यक्रममा बोल्दै सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद रमा कोइराला (पौड्याल) ले गरिखानेहरुलाई उठिबास लगाउने ढंगले काठमाडौँ महानगरपालिकाले सडक व्यापारीहरुलाई विस्थापित गर्ने काम गरेको भन्दै मेयर बालेन्द्र (बालेन) शाहप्रति आक्रोश व्यक्त गरिन् । उनले महानगरको सौन्दर्य नबिग्रने गरी सडक व्यापार गर्न दिनेगरी तत्काल निर्णय लिन पनि काठमाडौँ महानगरपालिकासँग आग्रह गरिन् ।
सांसद कोइरालाले भनिन्, ‘म महानगरपालिका, बालेन साह, योङ एनर्जेटिक व्यक्तित्व हुनुहुन्छ । उहाँले राम्रो काम गर्न खोज्नुभएको छ । तर उहाँको वरिपरि को छ, यहाँ यस्तो भइराखेको छ । यसरी दुःख दिनुहुँदैन गरिखानेहरुलाई भनेर सुझाव दिने मान्छेहरु छैनन् कि क्या हो ? भनेर मलाई पिर भएको छ । काठमाडौँमा ठूला सहरहरू छन् । म चाहन्छु–सडकका पेटीहरु पनि अव्यवस्थित हुनु हुँदैन । बिक्री हुने ठाउँलाई ख्याल गरेर उनीहरुको व्यवस्थापन गर्नुपर्छ । व्यापारीहरुलाई पनि सजिलो हुने र महानगरको सौन्दर्य पनि नबिग्रने गरी उनीहरुलाई सडक व्यापार गर्न दिनुपर्छ । त्यतातिर ध्यान दिनुपर्छ महानगरपालिका पनि ।सांसद कोइरालाले व्यापार हुने ठाउँमा सडक व्यापारीहरुको व्यवस्थापन गर्न उचित हुने धारणा समेत राखिन् ।