विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नियुक्तिको चार महिनापछि सरकारलाई पूर्णता दिएका छन् । चार मन्त्री र दुई राज्यमन्त्री थप गर्दै कार्कीले सरकारलाई पूर्णता दिएका हुन् ।२७ असोजमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले भोलिपल्ट दुई जना मन्त्री नियुक्त गरेका थिए । १७ कात्तिकमा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीबाट एक–एक जना मन्त्री नियुक्त गरे । त्यसयता भने सरकार विस्तार गर्न सकेका थिएनन् ।पटक–पटक सरकार विस्तारको भाका सारेका मुख्यमन्त्री कार्कीले शुक्रबार चार जना मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालय उनले आफैसँग राखेका छन् ।माओवादी केन्द्रबाट नारायणबहादुर मगर खानेपानी सिचाई तथा उर्जा मन्त्री बनेका छन् । उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २(१) बाट प्रदेशसभामा दोस्रो कार्यकालका लागि निर्वाचन भएका थिए ।
माओवादीबाटै राजेन्द्र कार्की सामाजिक विकास मन्त्री बनेका छन् । कार्की यसअघि उद्धब थापाको पहिलो कार्यकालमा विनाविभागीय मन्त्री बनेका थिए ।नेपाली कांग्रेस सांसद प्रदिपकुमार सुनुवार स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । ओखलढुंगा प्रदेशसभा १ बाट निर्वाचित सुनुवार यसअघि उद्धव थापा दुई पटक मुख्यमन्त्री हुँदा दुवै पटक मन्त्री बनेका थिए । उनी संस्थापन समूहका हुन् ।कांग्रेसबाट रामकुमार खत्री उद्योग,कृषि तथा सहकारी मन्त्री बनेका छन् । उनी उदयपुरको २(२) बाट निर्वाचित हुन् । डाक्टर शेखर कोइराला समूहका उनी पनि थापा नेतृत्वको सरकारमा केहि दिन विनाविभागीय मन्त्री बनेका थिए ।
कोइराला पक्षकै सांसद इन्दिरा थापा र सुनिताकुमारी गुरुङ राज्यमन्त्री बनेकी छन् । थापा आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्री नियुक्त भएकी हुन् । गुरुङ आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त भएकी छन् ।संविधानको धारा १६८ को उपधारा ५ अनुसार सत्तारुढ गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेको थिए । तर कांग्रेस भित्र कोइराला समूहका ८ सांसदले विद्रोह गरे । एमालेको समर्थनमा २७ असोजमा कार्की मुख्यमन्त्री बने । २८ असोजमा एमालेका राम रानालाई र कांग्रेसका सम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए । १७ कात्तिकमा माओवादी केन्द्रबाट गणेश उप्रेती र एकिकृत समाजवादीबाट कमलप्रसाद जवेगु मन्त्री बनेपछि १८ कात्तिकमा एमाले सरकारबाट बाहिरिएको थियो ।
पार्टी निर्णयविरुद्ध विद्रोह गर्दै मुख्यमन्त्री बनाउन साथ दिएका दुई सांसदलाई कार्कीले मन्त्री र दुईलाई राज्यमन्त्री बनाएका छन् । यसअघि कोइराला समूहबाट शम्शेर राई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए ।प्रदेश सरकारमा कांग्रेसबाट मुख्यमन्त्री कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री राईसँगै माओवादी केन्द्रबाट गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्री छन् ।सरकार विस्तार भएपछि मन्त्रीपरिषद् सदस्यको संख्या १० पुगेको छ ।