काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् ।बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् उनका अनुसार ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनअनुसार करिब ३४ प्रतिशतले खोप लगाएका हुन् । एकतीस जिल्लाले अझै रिपोर्ट बुझाएका छैनन् । ‘रिपोर्ट पठाएका ती जिल्लाले पनि कोहीले भर्खरै अभियान सञ्चालन गरेका छन्’, उनले भने, ‘हिमालका ११ जिल्लामा हिउँ परेकाले भर्खरमात्रै अभियान सञ्चालन गरेका छन् ।’
चिसोका कारण मनाङ र मुस्ताङमा अझै खोप अभियान सुरु भएको छैन । दादुरा–रुबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ देखि आगामी चैत ७ गतेसम्म ७५ जिल्लामा खोप अभियान सञ्चालन गरिएको हो । भूकम्पले प्रभावित भएका जिल्ला रुकुम पश्चिम र जाजरकोटमा यसअघि नै खोप लगाइसकिएको छ ।
ADVERTISEMENT