पर्वत । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक बाँकी कानुनहरु निर्माण गरिने बताएका छन् । सोमबार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजित व्यवसायीसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गिरीले संघीयता कार्यान्वयनका बाँकी कामहरु सक्नका लागि आवश्यक कानुनहरु निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मन्त्री गिरीले संविधान कार्यान्वयन र कतिपय पुराना कानुनहरु संशोधनको महत्त्वपूर्ण जिम्मेवारी अझै पनि बाँकी रहेको भन्दै ती कामहरु पुरा गर्नु वर्तमान सरकारको दायित्व रहेको समेत बताए । देशभर अहिले सहकारी समस्या देखिएको भन्दै सहकारीको समस्या समाधानका लागि पनि कानुन संशोधन गर्न आवश्यक रहेको गिरीको भनाई थियो । उनले बचतकर्ताले न्याय पाउने गरी कानुन संशोधन गरेर भएपनि सहकारी समस्या समाधान गर्न सरकार तयार रहेको स्पष्ट पारे ।सोमबार नै पाटीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका गिरीले झण्झटिला कानुनी प्रावधानहरुका कारण देशका कतिपय विकास निर्माणका कामहरु समेत रोकिएको भन्दै त्यस्ता कानुनहरु संशोधनको आवश्यकता रहेको समेत औँल्याए । गृह जिल्ला पर्वतको भ्रमणका आएका गिरीले गृह वडा कुश्मा नगरपालिका वडा न ३ मा आयोजित वडा कार्यालयको स्वागत ग्रहण कार्यक्रमलाई समेत सम्बोधन गरेका थिए ।

