धरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ राईले एक विद्यालयलाई पत्र लेख्दै शनिबार श्रमदान गर्न भनेका छन् ।धरान १५ को शिक्षा सदन माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई श्रमदानमा सहभागी गराउन मेयर राईले पत्र पठाएका हुन् ।श्रमदानमा अध्ययन, अवलोकन र सहभागिता मार्फत विद्यार्थीहरुलाई पनि श्रम संस्कृति र श्रमदानको बारेमा प्रत्यक्ष अनुभूति गराउन ३ चैत शनिबारको दिन विद्यार्थी र शिक्षकहरुलाई समेत श्रमदान पठाउन आग्रह गर्दै उनले पत्र लेखका छन् ।
मेयर साम्पाङले लेखेको पत्र अनुसार बिहान ८ बजेदेखि विद्यार्थीहरुलाई श्रमदानमा सहभागी गराउनुपर्ने छ । मेयर राईले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार धरान उपमहानगरपालिकामा श्रमदान शिक्षा प्रणाली सुरु गरिएको हो ।
गत शनिबार धरानको शिक्षा निकेतन माविलाई राई श्रमदानमा लगाएको उनले सामाजिक सञ्जालबाट नै जानकारी दिएका थिए ।धरान उपमहानगरका नगर शिक्षा अधिकारी गणेशप्रसाद खतिवडाका अनुसार मेयर राईले हरेक शनिबार छुट्टाछुट्टै विद्यालयका विद्यार्थी कक्षा ८ देखि १२ सम्मलाई श्रमदानको महत्व बुझाउन बोलाउन थालेका छन् ।
उनले भने, ‘मेयर ज्यूले श्रमदानको महत्व बुझाउन बोलाउन थाल्नुभएको छ । हरेक शनिबार बोलाउने भन्ने कुरा छ । विस्तृत मेयर ज्यूसँगै कुरा गर्नुहोला ।’धरान उपमहानगरपालिकाले सञ्चालन गर्ने कक्षा १–९ को परीक्षा भने १ चैतबाट हुने समय तालिको छ । नगर शिक्षा अधिकारी खतिवडाका अनुसार धरान उपमहानगरपालिकाभित्र करिब ८० वटा माध्यामिक तहका विद्यालय छन् ।