प्रधानमन्त्री बनाइदेलान् भनेर भागीभागी हिँड्नुपर्या छ : स्वर्णिम वाग्ले
zeenepal
२०८० फाल्गुन ३०,
33
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले नेपाली कांग्रेसले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताएका छन् ।बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै उनले प्रधानमन्त्री बनाइदिन्छन् कि भनेर भागी हिँड्नुपरेको छ भन्दै कांग्रेसप्रति ब्यंग्य गरे ।
‘यहाँ डर छ, भागिभागी हिँडिएको छ, च्याप्प समातेर प्रधानमन्त्री बनाइदेलान्, च्याप्प समातेर उपप्रधानमन्त्री बनाइदेलान् भागीभागी हिँड्नुपर्या छ’, उपसभापति वाग्लेले भने ।बुधबार प्रतिनिधिसभा बैठकमा नै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएका थिए । उनले गत चुनावका बेला माओवादी अध्यक्ष प्रचण्डलाई नो नट अगेन भन्नेहरुले किन समर्थन गरेको भन्दै प्रश्न उठाएका थिए ।
जवाफमा स्वर्णिमले गृहमन्त्री बन्दा रविसँग खोजेको नैतिकता प्रधानमन्त्री प्रस्ताव गर्दा किन नखोजेको भन्दै प्रश्न गरे । ‘गृहमन्त्री बन्दा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा पनि खोजिनुपर्ने हो नि त’ उनले भने ।कांग्रेस नेताहरुलाई आफू प्रमाणबिना बोल्दिन भन्ने थाहा रहेको भन्दै वाग्लेले प्रधानमन्त्रीको प्रस्ताव आएको कुरा सत्य भएको जिकिर गरे । ‘कांग्रेसले गरेको (प्रधानमन्त्रीको प्रस्ताव) छैन भन्ने हो भने हामी सक्कली कांग्रेस र नक्कली कांग्रेस खोज्नै हिँड्ने कुरा भएन’ उनले भने ।