काठमाडौँ । सेवाग्राहीलाई सेवा दिन नसकेको भन्दै नो अब्जेक्सन लेटर (एनओसी) शाखा प्रमुखले पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित एनओसी शाखामा एनओसी लिन आउने सेवाग्राहीको अत्यधिक भीड बढेको तर, आफूले सेवा दिन नसकेको भन्दै प्रमुख शान्तिराम पौडेलले राजीनामा दिएका हुन् ।उनले सेवाग्राहीलाई सेवा दिन नसक्नुमा आफ्नो कमजोरी रहेको भन्दै शिक्षा मन्त्रालयमा राजीनामा पत्र बुझाएको बताए ।
‘यतिधेरै जनताको सेवा म आफैँ शाखा प्रमुख भएर दिन सकिन् । सेवा दिन नसकेपछि मेरो जागिर अगाडि बढाउन नैतिक धरातलले दिएन । यति धेरैलाई सेवा दिन नसक्नुमा मेरो कमजोरी रह्यो । नैतिकतामा आधारमा मैले जागिर खानु हुँदैन भनेर मैले आज शिक्षा मन्त्रालयमा गएर राजीनामा पेस गरेर हिँडे,’ उनले भने ।
शिक्षा सचिवलाई नभेटेपछि सहसचिव कालीप्रसाद पराजुलीलाई राजीनापत्र बुझाएर हिँडेको उनको भनाइ छ । राजीनामा पत्रमा उनले ‘जनता धेरै आए, मैले सेवा दिन सकिन, सेवा दिन नसक्नु मेरो कमजोरी रह्यो, त्यसैले यसको नैतिकताको जिम्मेवारी मै लिन्छु’ भन्ने ब्यहोरा उल्लेख गरेका छन् ।
अचेल दैनिक २ हजारभन्दा बढीको हाराहारीमा एनओसी लिन आउने सेवाग्राहीरू आउने गरेका छन् । तर, उनीहरूलाई प्रभावकारी ढंगबाट सेवा दिन नसकेको भन्दै आफूले नैतिकताको आधारमा राजीनामा दिएको बताएका हुन् । करिब तीन महिना अघि मात्रै उनी एनओसी शाखाको प्रमुख भएर गएका थिए ।

