काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा अध्यक्षमा आफूले पाएको भूमिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग व्यक्तिगत रुपमा नजोड्न आग्रह गरेका छन् । बुधबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आफूले जनतालाई धोका हुने र पछुतो हुने कुनै काम नगरेको पनि स्पष्ट पारे । उनले आफूले प्राप्त गरेको भूमिका खास पारिवारिक सम्बन्धसँग जोडेर चर्चा गरिएको पाएको बताए । उनले आफूहरुको सम्बन्ध कहिल्यै पनि व्यक्तिगत वा पारिवारिक रुपमा नभएको बताए । उनले प्रधानमन्त्री दाहाल र आफ्नो सम्बन्ध विचार केन्द्रित सहकर्मीको रुपमा मात्रै रहेको बताए ।
उनले भने, ‘मैले सम्झेसम्म जनतालाई धोका हुने र पछुतो हुने कुनै काम गरेको छैन । मैले प्राप्त गरेको भूमिका खास पारिवारिक सम्बन्धसँग जोडेर चर्चा गरिएको पनि पाएको छु । तर हाम्रो त्यो सम्बन्ध कहिल्यै पनि व्यक्तिगत वा पारिवारिक रुपमा थिएन र छैन । हाम्रो सम्बन्ध सधैँभर विचार केन्द्रित सहकर्मीको रुपमा रहेको छ ।’अध्यक्ष दाहालले अध्यक्षमा मनोनयन भएपछि आफूले दलीय आबद्धता र संलग्नता त्याग गरेको बताए ।

