काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिएको छ । महरा बयान दिन थापाथलीस्थित नर्भिक अस्पतालबाट लैनचौरस्थित सीआईबी कार्यालय पुगेका थिए ।‘दिउँसो १ बजेतिर महरा सरको बयान सकेर अस्पताल फिर्ता गरेका छौं । महरा सरसँग हाम्रो तर्फको बयान सकियो । अब केही बाँकी भएर सरकारी वकिल कार्यालयले लिन्छ होला’, सीआईबीका एक अधिकारीले अनलाइनखबरसँग भने ।पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले मुद्दा चलाउनुपर्ने सिफारिस गरेपछि सीआईबीले महरालाई कपिलवस्तुबाट गत सोमबार पक्राउ गरिएको थियो । जिल्ला अदालतले महरालाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । उनी बिरामी भएकाले नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
जाँचबुझ आयोगले सुन तस्करीमा जोडिएका चिनियाँ नागरिक दावाजिन वाङसँगको फोन सम्पर्क र अन्य परिस्थितिजन्य प्रमाण भेटिएको भन्दै महरामाथि कारबाही गर्न सफारिस गरेको थियो । १ चैतमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई आयोगले बुझाएको ४८५ पृष्ठ लामो प्रतिवेदन अहिले सीआईबीले अध्ययन गरिरहेको छ ।
महराले वाङलाई आफूले फलफूल व्यापारीको रूपमा चिनेको र उनले भन्सारमा सामान रोकियो भनेपछि तत्कालीन भन्सार प्रमुख अरुण पोखरेललाई फोन गरेको तर सुन तस्करीबारे जानकारी नै नभएको बयान दिएका थिए ।भेपमार्फत नै भएको ९ किलो सुन तस्करी प्रकरणमा सीआईबीले महराका छोरा राहुललाई पक्राउ गरेर मुद्दा चलाएको थियो । उनी अहिले पुर्पक्षमा थुनामा छन् ।
ADVERTISEMENT

