पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन भ्रातृ संगठनहरुको माग
zeenepal
२०७९ जेष्ठ ११,
6
Shares
काठमाडौं ११ जेठ,। राप्रपा नेपालका दुई भ्रातृ संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । पार्टीको राष्ट्रिय युवा मोर्चा नेपाल र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालले छुट्टाछुट्टै विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।
‘छोटो समयमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले हर क्षेत्रमा जबरजस्ती महँगी थोपरेको छ,’ युवा मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विश्वव्यापी कोरोना महामारीको आर्थिक असरबाट उठ्न खोज्दै गरेका नेपाली नागरिकलाई सरकारले सहुलियत होइन, बजार भाउमा चौतर्फी असर पर्ने गरी इन्धनको मूल्यवृद्धि गरेर ढाड सेकाउने काम गरेकोले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गरेर आम जनतालाई राहत दिन मोर्चाले सरकारसँग माग गरेको छ ।
‘जनता, राष्ट्र र सिङ्गो अर्थतन्त्रलाई नै तहसनहस हुनबाट जोगाउन इन्धनमा लगाइएको अनावश्यक कर हटाइ तत्काल महँगी नियन्त्रण गर्नेतर्फ कदम नचाले हामी जस्तोसुकै किसिमको आन्दोलन गर्न तयार रहेको विज्ञप्तिमार्फत जानकारी गराउँछौँ,’ अध्यक्ष नगेन्द्र देउजाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै महिला संगठनले छोटो समयमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले हर क्षेत्रमा जबरजस्ती महँगी थोपरेको आरोप लगाएको छ । लगातारको मूल्यवृद्धिले आकासिएको महँगीलाई अब जनताले थेग्न सक्ने हैसियत नरहेको संगठनको भनाइ छ ।
अध्यक्ष सुनिता करुम्वाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘११ महिनायता पेट्रोलमा मात्रै ७८ रुपैयाँ भाउ बढाइएको छ भने पछिल्लो समय एक साताको अन्तरमै पेट्रोल, डिजेल र मट्टितेलमा दोहोर्याएर १०१० रुपैयाँ थपिएको छ । पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको १६३ रुपैयाँ पुर्याइएको छ । खाना पकाउने एलपी ग्यासमा पनि प्रतिसिलिन्डर २ सय बढाएर १८ सय रुपैयाँ पुर्याएपछि आम महिलाहरूलाई चुलो बाल्न समस्या भएको छ ।