वीरगञ्ज - सामाजिक कार्यमा सक्रिय उपकार सेवा नेपाल संस्थाले वीरगञ्जका एक अपाङ्गता भएका युवालाई ह्विलचियर प्रदान गरेको छ ।संस्थाले लामो समयदेखि शारीरिक असक्तताका कारण घरमै सीमित रहेका युवकलाई सहयोग स्वरूप ह्विलचियर उपहार दिएको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६, नगवा नयाँ बस्तीका पूर्ण रूपमा अपाङ्गता भएका २० वर्षीय युवकलाई ह्विलचियर हस्तान्तरण गरिएको उपकार सेवा नेपालका प्रतिनिधि तथा सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए । युवकको घरमै पुगेर उनलाई उक्त ह्विलचियर प्रदान गरिएको थारुले बताए ।ह्विलचियर हस्तान्तरण कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीको समेत उपस्थिति रहेको थियो । उनले समाजका असहाय र अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्न सदैव तत्पर रहँदै आएको संस्थाको उद्देश्यलाई दोहोर्याइन् ।
कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता प्रकाश थारुले उपकार सेवा नेपालले गरिब, असक्त, वृद्ध र बालबालिकाहरूको सहयोगमा निरन्तर क्रियाशील रहेको बताए । उनका अनुसार संस्था समाजप्रतिको दायित्व निभाउँदै यस्ता सामाजिक सेवा र परोपकारी कार्यमा सदैव अग्रसर रहनेछ ।
सहयोग हस्तान्तरणका अवसरमा प्रकाश थारुले भने, ‘यस्ता कार्यक्रमहरूले मात्र नभई निरन्तर सेवामार्फत समाजमा सकारात्मक प्रभाव पार्न सकिन्छ ।’ उनका अनुसार उपकार सेवा नेपालले भविष्यमा पनि अपाङ्गता भएका व्यक्तिहरू, वृद्ध वृद्धा, गरिब तथा अशक्तहरूको जीवन सहज बनाउन विभिन्न कार्यक्रमहरू अघि बढाउने योजना बनाएको छ । उपकार सेवा नेपालले वीरगञ्ज र आसपासका क्षेत्रमा शिक्षा, स्वास्थ्य, अपाङ्गता सेवा र अन्य सामाजिक काममा निरन्तर योगदान दिँदै आइरहेको छ । कार्यक्रमले समुदायमा सहयोग र सहकार्यको भावना बढाउन उल्लेखनीय भूमिका खेलेको बताइएको छ ।
ADVERTISEMENT