वीरगञ्ज - भारत सरकारले हरेक वर्ष धनतेरसको पावन अवसरमा "आयुर्वेद दिवस" मनाउने निर्णय गरेको छ। यसै अनुरुप यो वर्षको नवौं आयुर्वेद दिवस अक्टोबर २९ मा मनाइएको छ। विश्वभरि २४ देशहरूले आयुर्वेदलाई परम्परागत चिकित्सा पद्धतिका रूपमा कानुनी मान्यता दिएका छन्, र १०० भन्दा बढी देशमा आयुर्वेद उत्पादनहरू निर्यात हुने गरेको छ। आयुर्वेदले हजारौं वर्षदेखि स्वास्थ्य र कल्याणलाई प्रवर्द्धन गर्दै रोगहरूको रोकथाम र व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
यसै सन्दर्भमा, भारतको महावाणिज्य दूतावास, वीरगञ्जले ९ औं आयुर्वेद दिवसको अवसरमा "वैश्विक स्वास्थ्यका लागि आयुर्वेद नवप्रवर्तन" विषयक प्यानल छलफल आयोजना गर्यो।वीरगञ्ज च्याम्बर, नेपाल–भारत मैत्री संघ, नेपाल–भारत सहयोग मञ्चका पदाधिकारी र सदस्य, चिकित्सक, शिक्षाविद्, पत्रकार तथा विशिष्ट व्यक्तिहरूले सो कार्यक्रममा उत्साहका साथ सहभागीता जनाएका थिए। महावाणिज्यदूत श्री देवी सहाय मीनाले उद्घाटन भाषणमा आयुर्वेदको इतिहास र दैनिक जीवनमा यसको महत्वमाथि प्रकाश पार्नुभयो।
कार्यक्रममा वक्ताहरू डा. देवेश चन्द्र पाठक, डा. सुचित कुमार शर्मा, डा. शिव नारायण प्रसाद गुप्ता र चन्द्रकिशोर झाले आयुर्वेदका विविध पक्ष र स्वस्थ जीवनशैलीलाई कायम राख्न यसको महत्त्वपूर्ण उपयोगबारे आफ्ना विचार राख्नुभयो। वक्ताहरूले आयुर्वेदले रोगको रोकथाममा जोड दिने बताउँदै शरीर, मन र चेतनाको सन्तुलनका लागि सही सोच, आहार, जीवनशैली र जडीबुटीको प्रयोगलाई प्राथमिकता दिने बताए। आयुर्वेदको ज्ञानले व्यक्तिलाई आफ्नो व्यक्तिगत संरचनाको आधारमा जीवनशैलीमा परिवर्तन गर्न र सन्तुलन कायम गर्न मद्दत गर्ने कुरामा उनीहरूले जोड दिनुभयो।
ADVERTISEMENT