वीरगञ्ज - मधेस प्रदेश – मधेस प्रदेशको वीरगञ्जमा पहिलो पटक नवउद्यमी (स्टार्टअप) सम्मेलनको आयोजना गरिएको छ। वीरगञ्जको गण्डकस्थित क्लार्क होटलमा भएको एकदिने सम्मेलनको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले गरेका छन्।
उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा उद्यमशिलताको विकास र आर्थिक समृद्धिका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले वीरगञ्जमा आयोजना गरिएको यो सम्मेलनलाई मधेस प्रदेशको आर्थिक प्रगतिको महत्वपूर्ण कदमको रूपमा स्वीकार्दै, आफूले राजनीति छोडेपछि पनि नयाँ केही गर्न सकिने अपेक्षामा सम्मेलनमा सहभागी भएको बताए।
मुख्यमन्त्री सिंहले सबै उद्यमी सफल नहुने भए तापनि हौसला, दृढता, र आत्मविश्वासका साथ नवउद्यमशिलताको विकास गर्न युवाहरुलाई प्रोत्साहित गरे। परम्परागत शिक्षाले मात्र उद्यमशिलता नबढ्ने उल्लेख गर्दै उनले आधारभूत तहदेखि नै व्यवहारिक शिक्षा प्रणालीको आवश्यकता रहेको धारणा राखे।
मुख्यमन्त्री सिंहले नेपाली समाजमा "काम ठूलो र सानो" भन्ने धारणा हटाउनुपर्नेमा जोड दिए। उनका अनुसार, यस्तो सोच नहटेसम्म बेरोजगारीको समस्या समाधान गर्न गाह्रो हुनेछ। धेरैजसो पुरुष वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताका कारण महिलाहरू घरमै बसेको र समय खेर गएको तर्फ ध्यानाकर्षण गर्दै महिलाको उद्यमशिलता विकासमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।
मधेस प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा उद्यमशिलता प्रशिक्षण केन्द्र स्थापना गर्न बजेट विनियोजन गरेको र वीरगञ्जमा आईटी पार्क तथा माटो पार्कको लागि पनि बजेट व्यवस्था गरिएको जानकारी मुख्यमन्त्री सिंहले दिए। उनले माटो पार्कका लागि वीरगञ्ज महानगरपालिकाले जग्गा उपलब्ध गराउने प्रतिबद्धता गरेको र त्यसमा प्रदेश सरकारले पनि सहयोग गर्ने बताए।
सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अहमद, मधेस प्रदेश नीति आयोगका उपाध्यक्ष सोहन साह, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, भारतको गुगल हेड अपूर्व चमरिया, महासंघका उपाध्यक्ष हेमराज ढकाल, नेपाल औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ता, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
मुख्यमन्त्रीले वीरगञ्ज उद्योग वाणिज्य संघले उपलब्ध गराएको १८ कठ्ठा जमिनमा नवउद्यमशिलताका लागि पूर्वाधार निर्माणमा सहयोग गर्ने पनि आश्वासन दिएका छन्।
ADVERTISEMENT