वीरगञ्ज । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा नयाँ पाइपलाइन बिस्तारका कामहरू अन्तिम चरणमा पुगेकाले चाँडै मेलम्चीको शुद्ध पानी वितरण गरिने बताएका छन् ।
मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले नयाँ पाइपलाइनहरूको परीक्षण कार्य जारी रहेको र सफल परीक्षणपछि मेलम्चीको पानी वितरण प्रक्रिया तुरुन्त सुरु हुने जानकारी दिए ।
“नयाँ पाइपलाइनको विस्तार लगभग पूरा भइसकेको छ । केही दिनमा परीक्षण सकेर मेलम्चीको पानी वितरण थाल्नेछौँ । म स्वयं नयाँ पाइप विस्तार भएका ठाउँहरूको नियमित अनुगमनमा खटिएको छु,” मन्त्री यादवले भने ।
उनका अनुसार काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा खानेपानीका पाइपलाइनहरू पुरानो भएका कारण चुहावटका समस्या बढेका छन् । यसलाई तत्काल नियन्त्रणमा लिन सम्बद्ध निकायहरूलाई निर्देशन दिइएको मन्त्री यादवले बताए । “पानी चुहावट रोक्न विशेष टोली खटाइसकेका छौँ । केही दिनमै यो समस्या समाधान हुनेछ,” उनले थपे ।
मन्त्री यादवले निर्माण कार्यका क्रममा खानेपानीका पाइपहरू क्षतिग्रस्त भएकाले वितरण प्रक्रिया जटिल बनेको गुनासो पनि व्यक्त गरे । “सडक निर्माण गर्दा हाम्रो पाइप भत्किन्छ । त्यसको मर्मत कसले गर्ने? यस्तो स्थितिमा पानी वितरणमा कठिनाइ हुन्छ,” उनले भने ।
नयाँ पाइप विस्तारका लागि नारायण गोपाल चोकमा गृहकार्य थालिएको र केही दिनमा सामाखुशीचोक र बालुवाटार क्षेत्रमा पनि शुद्ध पानी वितरण हुने योजना सुनाइएको छ ।
देशभर स्वच्छ र सुरक्षित खानेपानी पुर्याउने लक्ष्यसहित मन्त्रालयले विभिन्न ठूला परियोजना अघि बढाइरहेको मन्त्री यादवले उल्लेख गरे । उनले ग्रामीण र दुर्गम क्षेत्रका नागरिकलाई समेत खानेपानीको पहुँच पुर्याउन दीर्घकालीन योजना तयार गरिएको जानकारी दिए ।
“खानेपानीका आयोजना स्थानीय जनतालाई केन्द्रमा राखेर योजना बनाउन सुरु गरेका छौँ । शीघ्र खानेपानीको सुविधासहित मुलुकका सबै नागरिकको जीवनस्तर सुधार गर्दै जानेछौँ,” प्रतिबद्धता जनाउँदै मन्त्री यादवले भने ।
ADVERTISEMENT
