ब्राइट प्लस टु कलेजद्वारा २४ प्रतियोगितासहित चारदिने खेलकुद सप्ताहको आयोजना
Dipu
२०८१ माघ २५,
39
Shares
वीरगञ्ज - वीरगञ्जको घण्टाघर नजिकै रहेको ब्राइट प्लस टु कलेजले व्यवस्थापन र विज्ञान संकायअन्तर्गत वार्षिक खेलकुद सप्ताहको आयोजना गर्ने घोषणा गरेको छ। कार्तिक २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने यस सप्ताहमा कक्षा ११ र १२ मा अध्ययनरत ५५० विद्यार्थीहरूको सक्रिय सहभागिता रहने कलेजले जनाएको छ।
चार दिनसम्म चल्ने यस सप्ताहमा विभिन्न २४ किसिमका प्रतियोगिताहरू आयोजना गरिनेछ। कलेजका प्रशासन प्रमुख अखिल पटेलका अनुसार पहिलो दिन क्यारम बोर्ड, मर्बल बक्स, स्लो साइकल रेस, बास्केटबल, टेबल टेनिस, र चित्रकला प्रतियोगिता हुनेछन्।
दोस्रो दिन कबड्डी, टग अफ वार, लुडो, चेस, भलिबल, र स्क्राबल जस्ता प्रतियोगिताहरू समावेश गरिएका छन्। तेस्रो दिन लामो र छोटो दौड, भालाफाल, फुटबल, क्रिकेट, सर्टपुट, र हाई जम्पजस्ता खेलहरू हुनेछन्। अन्तिम दिन नृत्य, गायन, कविता वाचन, अभिनय, हातको पञ्जा खेल, र ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिनेछ। पटेलका अनुसार प्रतियोगिता कलेजको आफ्नै खेलमैदानमा सञ्चालन हुनेछ।
कलेजका प्रबन्ध निर्देशक मुकेश गुप्ताले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको शारीरिक, मानसिक, र सांस्कृतिक क्षमताको अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई आत्मविश्वासी, रचनात्मक, र प्रतिस्पर्धी बनाउने अवसर प्रदान गर्छ।
कार्यक्रमको अतिरिक्त, प्रतियोगिताको मूल्याङ्कन सामाजिक सञ्जालहरूमार्फत पनि गरिनेछ। सहभागीहरूको प्रस्तुतिलाई फेसबुक लाइक, सेयर, कमेन्ट र ह्वाट्सएप पोल मार्फत अंक दिइने व्यवस्था गरिएको छ।