वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलकी मेधावी छात्रा अर्पिता गुप्ताले काठमाडौं महानगरपालिकाको शिक्षा विभागद्वारा आयोजित छात्रवृत्ति छनोट परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै पूर्ण छात्रवृत्ति प्राप्त गरेकी छिन्।
उक्त छात्रवृत्तिमार्फत उनले काठमाडौंको कालीमाटीस्थित काठमाडौँ स्कुल अफ सेन्ट्रल स्टेट मा कानुन (Law) विषयमा अध्ययन गर्ने अवसर प्राप्त गरेकी हुन्। एसईईमा उत्कृष्ट अङ्क ल्याएर छात्रवृत्तिका लागि योग्य ठहरिएकी अर्पिताको यो उपलब्धिले सम्पूर्ण सगरमाथा स्कुल परिवारलाई गर्वको अनुभूति गराएको विद्यालयका प्रधानाध्यापक जियालाल गुप्ताले बताए।
प्रधानाध्यापक गुप्तासहित विद्यालयका शिक्षक, अभिभावक र सहपाठीहरूले उनको सफलतामा हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको शुभकामना दिएका छन्। विद्यालयले यस उपलब्धिलाई आफ्नो शैक्षिक गुणस्तर र विद्यार्थीहरूको क्षमताको प्रमाणका रूपमा लिएको छ।
यसअघि पनि सोही विद्यालयकी अर्की छात्रा करिश्मा गुप्ताले वीरगञ्ज नेशनल प्याब्सन मेगा छात्रवृत्तिमार्फत कक्षा ११/१२ का लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकी थिइन्।
विद्यालयले प्रतिभाशाली विद्यार्थीहरूलाई निरन्तर प्रोत्साहन र उत्प्रेरणा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै अर्पिताको सफलताले अन्य विद्यार्थीहरूलाई कडा मेहनत र लगनशीलताका साथ अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।

