वीरगञ्ज – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन छात्रा तथा जुनियर छात्र नकआउट क्रिकेट प्रतियोगिताअन्तर्गत पाँच वटा रोमाञ्चक खेल सम्पन्न भएका छन् ।
प्याब्सन वीरगञ्जका सचिव अमित आलोकका अनुसार विद्यार्थीहरूमा खेलकुद भावना विकास गर्नुका साथै शारीरिक तथा मानसिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
छात्रातर्फ भएको पहिलो खेलमा माउन्ट एडमन्ड स्कुलले जीवन ज्योति स्कुललाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । उत्कृष्ट प्रदर्शन गरेकी माउन्ट एडमन्डकी स्मृति कुमारी भुलम ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् ।
जुनियर छात्रतर्फको दोस्रो खेलमा अल्पाइन स्कुलले माउन्ट मकालुलाई २९ रनले पराजित गरेको छ । उक्त खेलमा अल्पाइनका अजद आलम ‘प्लेयर अफ दि म्याच’ बने ।
त्यस्तै, छात्रातर्फको तेस्रो खेलमा गौतम स्कुलले गुरुकुल स्कुललाई ६० रनको फराकिलो अन्तरले पराजित गर्यो । गौतमकी श्रेष्का बस्नेत उत्कृष्ट खेलाडी घोषित भइन् । चौथो खेलमा छात्रातर्फ नै अल्पाइन र एसआर ग्यालेक्सीबीच भएको प्रतिस्पर्धामा एसआर ग्यालेक्सी स्कुलले ५ विकेटको जित दर्ता गर्यो । यस खेलमा रागनी कुशवाहा ‘प्लेयर अफ दि म्याच’ बनिन् ।
पाँचौँ खेल जुनियर छात्रतर्फ गौतम स्कुल र गोल्डेन फ्युचर स्कुलबीच सम्पन्न भएको थियो, जसमा गोल्डेन फ्युचरले ७ विकेटको जित हात पार्यो । गोल्डेन फ्युचरका रेहान अन्सारी उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरमै क्रिकेटप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूबीच अनुशासन, टिमवर्क र प्रतिस्पर्धात्मक भावना विकास गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताका बाँकी खेलहरू आगामी दिनमा निरन्तर सञ्चालन हुने प्याब्सन वीरगञ्जले जनाएको छ ।
ADVERTISEMENT

