वीरगञ्ज । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले उम्मेदवारी दर्ता गराएका छन्। हजारौँ युवा तथा समर्थकको सहभागीतासहित सर्राफले जिल्ला समन्वय समिति पर्साको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका हुन्।
जनमत पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सर्राफले मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै देशमा नेतृत्व परिवर्तनको खाँचो रहेको बताए। युवाहरूले नयाँ र वैकल्पिक नेतृत्व खोजिरहेको अवस्थामा आफू उम्मेदवार बनेको उल्लेख गर्दै उनले जनताले अब पुरानै शैलीको राजनीतिभन्दा फरक विकल्प चाहिरहेको दाबी गरे।
सर्राफले पर्सा–१ बाट यसअघि पटक–पटक निर्वाचित सांसदहरूले वीरगञ्जको समग्र विकासका लागि उल्लेखनीय काम गर्न नसकेको आरोप लगाए। वीरगञ्जको गौरव जोगाउन र स्थानीय समस्याहरू समाधान गर्न निर्वाचित प्रतिनिधिहरू असफल भएको उनको भनाइ थियो। उनले वीरगञ्जको आवाज संसद्मा सशक्त रूपमा उठाएर यसको खोसिएको पहिचान र गौरव पुनःस्थापना गर्ने उद्देश्यका साथ उम्मेदवारी दिएको स्पष्ट पारे।
यसअघि निर्वाचित सांसदहरूले नारायणी अस्पताल, ठाकुरराम बहुमुखी क्याम्पस तथा नारायणी रङ्गशालाको स्तरोन्नतिमा पर्याप्त चासो नदेखाएको सर्राफको आरोप छ। साथै वीरगञ्जको लाइफलाइन मानिने सिर्सिया नदीको सरसफाइ र प्रदूषण नियन्त्रणमा पनि ठोस पहल नभएको भन्दै उनले विगतका प्रतिनिधिहरूको आलोचना गरे।
ADVERTISEMENT

