वीरगंज – पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत वीरगंज महानगरपालिका इनरुवा गाउँ, वडा नम्बर १६ मा उज्यालो नेपाल पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले आज टोलवासीसँग प्रत्यक्ष भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।
भेटघाट कार्यक्रमका क्रममा उम्मेदवार सिंहले स्थानीय बासिन्दासँग खुला संवाद गर्दै उनीहरूको समस्या, अपेक्षा तथा सुझावहरू ध्यानपूर्वक सुनेका थिए। सो अवसरमा बोल्दै उनले युवाहरूले खोजेको नेतृत्व र अपेक्षित परिवर्तन युवाकै सक्रियताबाट सम्भव हुने स्पष्ट पारे।
उम्मेदवार सिंहले युवाहरूका लागि रोजगारी र समग्र गाउँ–समाजको विकासका विषयमा काठमाडौं वा सहर केन्द्रित सोच आवश्यक नरहेको उल्लेख गर्दै गाउँमै अवसर सिर्जना गरी विकास सम्भव रहेको धारणा व्यक्त गरे। साथै, उनले वीरगंज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित जनप्रतिनिधिका रूपमा गरेको काम र त्यहाँबाट प्राप्त अनुभवलाई अब संघीय संसदसम्म पुर्याउने प्रतिबद्धता जनाए।
स्थानीय तहमा काम गर्दै जनताका समस्या नजिकबाट बुझ्ने अवसर पाएको अनुभवले संसदमा प्रभावकारी रूपमा जनआवाज उठाउन सक्षम हुने उनले बताए। कार्यक्रममा टोलवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो भने उम्मेदवार सिंहप्रति स्थानीय जनताको चासो र विश्वास क्रमशः बढ्दै गएको देखिएको छ।
उज्यालो नेपाल पार्टीले आगामी दिनहरूमा पनि यस्ता जनसम्पर्क तथा टोलस्तरीय भेटघाट कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएको छ।

