संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमै पारित हुन्छ : प्रधानमन्त्री
zeenepal
२०८० जेष्ठ १०,
9
Shares
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पारित हुने बताएका छन् । वेपत्ता योद्धा परिवार समाजले आइतबार काठमाडौंमा गरेको अन्तर्क्रिया कार्यक्रममा उनले यो विधेयक संसदबाट सहमतिमै पारित हुने पनि बताए ।
‘सबैतिर सहमति बनाएर अब केही दिनभित्र त्यो विधेयक पारित गरेर आयोगमार्फत। तपाईहरुले सुन्नु भयो-नीति, कार्यक्रममा हामीले अबको २ वर्ष भित्र सम्पूर्ण काम टुंग्याउनेगरी काम अगाडि बढाउँछौं भनिएको छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसकारण यो कुरा तपाईहरुलाई आज सुनाउन पाउँदा मलाई विशेष खुशी र गर्व पनि महशुस हुन्छ ।
हामी टुंग्याउँछौं । त्यसमा नेपाली काँग्रेस, एमालेसहितका दलको पनि सहमति र प्रतिवद्धता भईसकेपछि हामीलाई धेरै सजिलो भएको छ । यो टुंगिन्छ’ उनले भने ।संक्रमणकालीन न्यायसम्बन्धी विधेयक हाल प्रतिनिधिसभामा विचाराधीन छ, उक्त विधेयकको विषयमा संसदीय समितिमा छलफल सुरु भएको छ ।प्रधानमन्त्री प्रचण्डले वेपत्ता पारिएका व्यक्तिहरुको स्थिति सार्वजनिक गर्ने, उनीहरुलाई शहीदको सम्मान दिने र परिवारलाई उचित क्षतिपूर्ति, परिपूरणसहितको व्यवस्था गर्न आफू पूरै लागिपर्ने पनि बताए ।
प्रधानमन्त्री प्रचण्डले जनयुद्ध र जनआन्दोलनका योद्धाहरुलाई शहीद घोषणा गर्ने, फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने काम गरेकोमा आफूलाई गर्व लागेको पनि बताए ।प्रधानमन्त्री प्रण्चडले माओवादी लडाकुहरुलाई दुई लाख दिने निर्णय अदालतको अन्तरिम आदेशका कारण रोकिएको पनि बताए ।