काठमाडौँ - सङ्घीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो सय दिने कार्यकालका उपलब्धिहरू सार्वजनिक गर्दै मन्त्रालयको कामलाई जनअपेक्षाअनुसार द्रुतगतिमा अघि बढाइएको बताएका छन् । गत असार ३१ गते पदभार ग्रहण गरेपछि मन्त्री यादवले मेलम्ची आयोजना पुनः सञ्चालनदेखि बाढी प्रभावित क्षेत्रहरूको पुनर्स्थापनासम्मका कार्यहरूमा विशेष ध्यान दिइएको बताएका छन् । उनले आफ्नो नेतृत्वमा मन्त्रालयले स्थलगत निरीक्षण र जनसंवादमार्फत योजनाहरूको प्रभावकारिता सुनिश्चित गर्दै सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाइएको बताएका हुन् ।
मन्त्रालयको प्रमुख सफलता मेलम्ची खानेपानी आयोजनाको पुनः सञ्चालन रहेको छ । मेलम्चीको पानी असोज २२ गतेदेखि पुनः सुन्दरीजल प्रशोधन केन्द्र हुँदै काठमाडौँ उपत्यकामा आपूर्ति गरिन थालिएको छ, जसले उपत्यकावासीलाई दैनिक १७ करोड लिटर पानी उपलब्ध गराउन थालेको छ । “मेलम्ची आयोजनाको पुनः सञ्चालनमा मैले आफैँ मेलम्ची पुगेर स्थानीय जनप्रतिनिधि र सङ्घर्ष समितिका पदाधिकारीहरूसँग छलफल गरेर पानी आपूर्तिमा सहयोग गर्न अनुरोध गरेको थिएँ,” मन्त्री यादवले भने । उनको प्रत्यक्ष जनसंवाद र सहकार्यको प्रयासले काठमाडौँ उपत्यकाको खानेपानी सङ्कटलाई कम गर्न महत्त्वपूर्ण योगदान दिएको हो ।
मन्त्री यादवले सय दिनको अवधिमा विभिन्न आयोजनाहरूको स्थलगत अनुगमन र निरीक्षण गर्दै व्यक्तिगत रूपमा प्रगतिमा चासो देखाएका थिए । उनले आयोजनास्थलमा पुगेर जिम्मेवार अधिकारीहरूलाई प्रक्रिया छिटो पूरा गरी काममा तीव्रता दिन निर्देशन दिएका थिए । “स्थलगत अनुगमनका क्रममा मलाई जनताका समस्या प्रत्यक्ष बुझ्न र समाधान खोज्न मद्दत मिल्यो,” मन्त्री यादवले भने । उनको निरीक्षणको क्रममा स्थानीयहरूले सुझाव दिने अवसर पाएका थिए, जसले योजनाहरू अझ प्रभावकारी बनाउन सहयोग पुर्याएको छ ।
पानी आपूर्ति सुधारका लागि मन्त्रालयले काठमाडौँ उपत्यकामा एक हजार सात सय किलोमिटर नयाँ पाइपलाइन विस्तार गरेको छ, जसमा स्वयम्भू, ताहाचल, बालुवाटार, मन्डिखाटार र चाबहिल क्षेत्रमा मात्रै सात सय किलोमिटर पाइप बिछ्याइएको छ । “हामीले पानी अभावको समस्या चाँडै समाधान गर्ने अठोट गरेका छौँ,” मन्त्री यादवले भने । त्यसै गरी, कीर्तिपुर र महाँकालचौरमा ६० लाख र ८० लाख लिटर क्षमताका दुई ठूला ट्याङ्कीहरूको निर्माण सम्पन्न भई ती क्षेत्रहरूमा नियमित आपूर्ति सुरु भइसकेको छ ।
मन्त्रालयले सरसफाइ सुधारमा विशेष प्राथमिकता दिएको छ । तर, असोज ११-१२ मा आएको अविरल वर्षाका कारण धोवीघाट फोहोर पानी प्रशोधन केन्द्र डुबानमा परेपछि केही उपकरणहरू अवरुद्ध भएका थिए । मन्त्री यादवले समस्या समाधानका लागि तत्काल मर्मत थाल्न निर्देशन दिएका छन् र बिमा कम्पनीसँग छलफल गरी मर्मत कार्य अघि बढाउने तयारी भइरहेको छ । “सरसफाइ व्यवस्थापनमा कुनै सम्झौता हुने छैन । हामीले तुरुन्त समाधानको बाटो खोजिरहेका छौँ,” उनले भने ।
मन्त्रालयले भेरी पम्पिङ आयोजनालाई गति दिन २८ अगस्टमा चीनको झेजिङ टोलीसँग ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढाइसकेको छ । पोखरा खानेपानी सुधार आयोजनामा भने बाढीका कारण अवरोध सिर्जना भएको छ । सेप्टेम्बर २४ मा आएको बाढीले ८ सय मिलिमिटर पाइपलाइनमा क्षति पुर्याएपछि मर्मत कार्य तीव्र गतिमा भइरहेको छ ।
मन्त्रालयले बाढी प्रभावित क्षेत्रहरूमा पनि शीघ्र सुधारको काम थालेको छ । काभ्रे र ललितपुरमा नयाँ पाइप बिछ्याउने र मर्मत कार्य तीव्र रूपमा अघि बढिरहेको छ । “स्थानीय सरकारहरूसँग सहकार्य गरी समस्या समाधान गर्न हामी पूर्ण प्रतिबद्ध छौँ,” मन्त्री यादवले भने । उनले दीर्घकालीन समाधानका लागि प्राविधिक अध्ययन अगाडि बढाएको र भविष्यमा यस्ता समस्या नदोहोरिने गरी पुनर्स्थापना गर्ने योजनामा मन्त्रालय अघि बढेको जानकारी दिए ।
मन्त्री यादवको सय दिने कार्यकालमा देखिएको परिवर्तनले जनताको जीवनमा सकारात्मक प्रभाव पारेको छ । उनले मन्त्रालयको कामलाई सजगता, पारदर्शिता र गतिका साथ अघि बढाएका छन्, जसको जनताले खुलेर प्रशंसा गरेका छन् । “मन्त्रालयको प्राथमिकता भनेको नागरिकलाई गुणस्तरीय र भरपर्दो सेवा दिने हो । हामी जनअपेक्षाअनुसार काम गरिरहेका छौँ,” मन्त्री यादवले भने ।
उनले जनतालाई भरपर्दो सेवा दिन निरन्तर लागिरहने प्रतिबद्धता जनाउँदै भने, “मुलुकका सबै नागरिकले स्वच्छ पानी पाउने सुनिश्चितता गर्न कुनै कसर बाँकी राख्दैनौँ । खानेपानी सुधारमा आएको यो परिवर्तन स्थायी बनाउनेछौँ ।”मन्त्रालयकी सचिव ई. प्रमीला देवी शाक्य बज्राचार्यले मन्त्री यादवको सक्रिय अनुगमन र समन्वयले सेवा प्रभावकारी बनाएको र मन्त्रालयको कार्यसम्पादनमा गति आएको बताइन । उनले मन्त्रालयले आधुनिक प्रविधिको प्रयोग र जनसमुदायसँगको संवादबाट नीतिहरूको प्रभावकारिता बढाएको जानकारी दिइन् ।
विश्लेषकहरूका अनुसार मन्त्री यादवको नेतृत्वमा मन्त्रालयले आयोजना कार्यान्वयनमा गति मात्र दिएको छैन, जनतासँगको सहकार्य र समस्याप्रति संवेदनशीलता पनि देखाएको छ । उनीहरूले मन्त्री यादवको स्थलगत निरीक्षण र जनसंवादलाई मन्त्रालयको सफलताको कडी मानेका छन् । “प्रदीप यादवजीले परिणाममुखी र जिम्मेवार नेतृत्व प्रस्तुत गर्दै मन्त्रालयलाई नयाँ उचाइमा पुऱ्याउन सफल हुनु भएको छ,” एक विश्लेषकले टिप्पणी गरे ।
“मैले यो सय दिनमा जनताको अपेक्षा पूरा गर्ने प्रयास गरेको छु,” मन्त्री यादवले भने, “आगामी दिनमा थप ठूला योजनाहरू कार्यान्वयन गर्दै देशभर खानेपानी सेवा सुधार्ने लक्ष्य लिएका छौँ । जनतासँगको सहकार्य र विश्वास हाम्रो प्रेरणा हो ।” मन्त्री यादवको सय दिने कार्यकालले खानेपानी क्षेत्रको सुधारमा नयाँ आयाम थप्दै जनताले अपेक्षा गरेका परिवर्तनहरूलाई यथार्थमा बदल्न सफल भएको छ ।
मन्त्री यादवले मन्त्रालयदेखि खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, मेलम्ची खानेपानी आयोजनालगायतका कर्मचारी र प्रतिनिधिहरूसँगै सचिवालयले गरेको सहयोग प्रति आभार प्रकट गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गर्नुभएको कार्यसम्पादन सम्झौता अनुरूप एक सय दिन भित्र गरिनुपर्ने कामहरूमध्ये अधिकांश गर्न सफल भएको बताए ।
यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र वन तथा वातावरण मन्त्री हुँदा पनि मन्त्री यादवले उल्लेखनीय काम गरेका थिए । उनि पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् र उनले यसअघि गरेको कामकै कारण जनताले दोस्रो कार्यकालका लागि उनलाई प्रतिनिधिसभा सदस्य बनाएर पठाएका छन् । मन्त्री यादवको सय दिने कार्यकालले खानेपानी क्षेत्रको सुधारमा नयाँ आयाम थप्दै जनताले अपेक्षा गरेका परिवर्तनहरूलाई यथार्थमा बदल्न सफल भएको छ ।
ADVERTISEMENT
