काठमाडौँ - खानेपानी मन्त्रालयको वर्तमान अवस्था, हालसम्मको प्रगति, र आगामी योजनाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री प्रदीप यादवबिच विशेष छलफल सम्पन्न भएको छ ।
छलफलमा मन्त्री यादवले आफ्नो कार्यकालमा भएका उपलब्धि, मन्त्रालयले सामना गरिरहेका चुनौतीहरू, र आगामी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई विस्तृत जानकारी गराउनुभएको छ । प्रधानमन्त्री ओलीले मन्त्रालयको प्रयासहरूको प्रशंसा गर्दै महत्त्वपूर्ण निर्देशन पनि दिनुभएको छ ।
छलफलका क्रममा मन्त्री यादवले मन्त्रालयले ग्रामीण तथा सहरी क्षेत्रमा खानेपानी तथा सरसफाइका परियोजनाहरूलाई तीव्रता दिएको जानकारी गराउनुभयो । उहाँले सन् २०३० देशभरका नागरिकमा सुद्ध र आधारभूत खानेपानी पुर्याउने लक्ष्य रहेको आफ्नो योजनाको रहेको सुनाउनुभयो । “मन्त्रालयले छोटो समयमै उल्लेख्य प्रगति गरेको छ । मेलम्ची खानेपानी आयोजनालाई समेत तीव्रताका साथ अघि बढाइएको छ । ग्रामीण क्षेत्रमा नयाँ योजना कार्यान्वयन र पुराना परियोजनाको समयमै सम्पन्न गर्न विशेष ध्यान दिइएको छ,” मन्त्री यादवले भन्नुभयो ।
जलवायु परिवर्तनले खानेपानीको स्रोतहरूमा पारेको प्रभावबारे चर्चा गर्दै उहाँले मन्त्रालयले वातावरणमैत्री र दिगो योजना निर्माणमा प्राथमिकता दिएको बताउनुभयो । “जलवायु परिवर्तनको असरले खानेपानी व्यवस्थापन जटिल बन्दै गएको छ । यसलाई समाधान गर्न मन्त्रालयले वैज्ञानिक दृष्टिकोणबाट दिगो समाधानका उपायहरू अवलम्बन गरेको छ,” उहाँले थप्नुभयो ।
छलफलको क्रममा मेलम्ची खानेपानी आयोजनाको वर्तमान प्रगति र विभिन्न चरणमा भइरहेका कामबारे पनि गहन विमर्श भएको थियो । मन्त्री यादवले मेलम्ची आयोजनाका विभिन्न चरणका कामहरूको कार्यान्वयनलाई समयमै सम्पन्न गर्न मन्त्रालयले ठोस योजना अघि बढाएको जानकारी गराउनुभयो । उहाँले आयोजनामा देखिएका प्राविधिक र प्रशासनिक चुनौती समाधानका लागि मन्त्रालय सक्रिय रहेको बताउनुभयो । “मेलम्चीको कामलाई गति दिन हामीले विभिन्न पक्षसँग सहकार्य गरिरहेका छौँ । आयोजना जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले समयमै सम्पन्न गर्नु हाम्रो प्राथमिकता हो,” यादवले भन्नुभयो ।
त्यस्तै, परियोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) मार्फत सञ्चालित अन्य योजनाहरूको प्रगतिबारे पनि मन्त्री यादवले प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो । मन्त्री यादवले ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच विस्तार गर्न पीआइडीले महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको कार्यक्षमताको प्रशंसा गर्दै थप योजना बनाउने र प्रभावकारी कार्यान्वयनको निर्देशन दिनुभयो । “खानेपानी जस्तो आधारभूत आवश्यकता प्रत्येक नागरिकको पहुँचमा पुर्याउनु सरकारको प्रमुख जिम्मेवारी हो । मन्त्रालयले यो दिशामा देखाएको सक्रियता अत्यन्तै सराहनीय छ । अझ प्रभावकारी नतिजा दिन दीर्घकालीन योजना आवश्यक छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले खानेपानी र सरसफाइ परियोजनामा देखिएका बाधा-अड्चन हटाउन सबै निकायबिच सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो । “जलवायु परिवर्तनका कारण आउने दीर्घकालीन चुनौती सामना गर्न वैज्ञानिक योजना बनाउनुपर्छ । यसका लागि सरकारको पूर्ण समर्थन रहनेछ,” ओलीले थप्नुभयो ।
त्यस्तै प्रधानमन्त्री ओलीले खानेपानी मन्त्री यादवको प्रशंसा गर्दै मन्त्रालयलाई नयाँ योजनाहरू अघि बढाउन हौसला दिँदै भन्नुभयो, “खानेपानी क्षेत्रमा भएका सुधारका लागि तपाईँको नेतृत्वमा मन्त्रालयले गरेका प्रयास अत्यन्तै सराहनीय छन् । आगामी दिनमा मन्त्रालयको कामले झन् व्यापक प्रभाव पारोस् भन्ने मेरो अपेक्षा छ ।”
प्रधानमन्त्री ओलीसँग निर्देशन पाए पश्चात् मन्त्री यादवले भविष्यमा खानेपानीको दीर्घकालीन आवश्यकता पूरा गर्न दिगो नीति बनाइने बताउनुभयो । “हाम्रो उद्देश्य खानेपानीको स्रोतहरूको दीर्घकालीन संरक्षण र समुचित व्यवस्थापन गर्नु हो । स्थानीय समुदायको सहभागिता र नवीन प्रविधिको प्रयोगमार्फत यसलाई सम्भव बनाउनेछौँ,” उहाँले भन्नुभयो ।
छलफल पश्चात् प्रतिक्रिया दिँदै मन्त्री यादवले मन्त्रालयले खानेपानी र सरसफाइका क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याउने गरी काम गरिरहेको बताउनुभयो । “जनताको आधारभूत आवश्यकता पूरा गर्न हाम्रा सबै प्रयास केन्द्रित छन् । प्रधानमन्त्रीज्यूको निर्देशनले हाम्रो कामलाई अझ प्रभावकारी बनाउन प्रेरणा मिलेको छ । आगामी दिनमा हामी नागरिकका अपेक्षा पूरा गर्न कुनै कसर बाँकी राख्ने छैनौँ,” उहाँले भन्नुभयो ।
ADVERTISEMENT