वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर–२८ दरदरवामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानुले शनिबार साँझ पार्टीका कार्यकर्ता तथा समर्थकहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन्।
गत बिहीबारदेखि चुनावी प्रचार अभियान थालेका उम्मेदवार कानु शनिबार साँझ दरदरवा गाउँ पुगेर स्थानीय कार्यकर्ता र समर्थकहरूसँग प्रत्यक्ष संवादमा सहभागी भएका थिए। भेटघाटका क्रममा उनले पार्टीको राजनीतिक दृष्टिकोण, आगामी योजनाहरू र निर्वाचनपछिको कार्यदिशाबारे जानकारी गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कानुले अब देशको नेतृत्व क्रमशः युवा पुस्ताको हातमा आउन थालेको बताएका छन्। युवामा ऊर्जा, इमान्दारिता र परिवर्तनको चाहना भएकाले उनीहरूले नै देशलाई समृद्धिको बाटोमा अघि बढाउन सक्ने उनको भनाइ थियो। यही विश्वासका कारण रास्वपाले देशभर युवालाई प्राथमिकता दिँदै उम्मेदवार चयन गरेको उनले स्पष्ट पारे।
कानुले ३१–३२ वर्षकै उमेरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर–१० का जनताले आफूलाई वडाध्यक्षमा निर्वाचित गराएको स्मरण गर्दै त्यस समय जनताले दिएको आशा र भरोसालाई कहिल्यै टुट्न नदिएको दाबी गरे। “हिजो वडाध्यक्ष हुँदा पनि जनता नै मेरो पहिलो प्राथमिकतामा थिए, आज पनि छन् र भोलि पनि रहनेछन्,” उनले भने।
उनले देशभर रास्वपाप्रतिको जनसमर्थन तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाको एकल बहुमत आउने दाबी गरे। साथै उनले नेपालको राजनीतिक इतिहासमा पहिलो पटक मधेसी समुदायका बालेन शाह प्रधानमन्त्री बन्ने दाबीसमेत गरे।
‘अबकी बार, बालेन सरकार’ नाराले मधेस मात्र नभई सिंगो देश गुञ्जायमान भएको उल्लेख गर्दै कानुले पर्सा–२ का जनताले पनि स्पष्ट परिवर्तन चाहेको बताए। उनले पर्सा–२ का मतदाताहरू युवालाई आफ्नो सांसदका रूपमा देख्न आतुर रहेको दाबी गर्दै आफूलाई विजयी गराउन आग्रह गरे।
कार्यक्रममा सहभागी कार्यकर्ता तथा समर्थकहरूले रास्वपाको अभियानले नयाँ आशा र उत्साह पैदा गरेको प्रतिक्रिया दिएका थिए।
ADVERTISEMENT

