वीरगंज - पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्ने विन्दवसनी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशिल साह कानुको घरदैलो कार्यक्रम उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। युवाहरू तथा स्थानीय जनसमुदायको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले क्षेत्रीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको पार्टीले जनाएको छ।
स्थानीय तहमा पार्टी संगठन विस्तार र जनसम्पर्क सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको घरदैलो कार्यक्रममा रास्वपाका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। “अबको परिवर्तन युवाको नेतृत्व” भन्ने नारासहित सम्पन्न कार्यक्रममा युवाहरूको उत्साहजनक उपस्थिति देखिएको थियो।
कार्यक्रमका क्रममा उम्मेदवार कानुसहित पार्टी प्रतिनिधिहरूले विन्दवसनी क्षेत्रका विभिन्न टोल तथा बस्तीमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरेका थिए। भेटघाटका क्रममा स्थानीयहरूले रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकासलगायतका विषयमा आफ्ना समस्या र सुझावहरू खुलस्त रूपमा राखेका थिए।
पार्टी प्रतिनिधिहरूले स्थानीयका गुनासा तथा सुझावलाई गम्भीरतापूर्वक सुन्दै आगामी दिनमा नीतिगत तथा कार्यक्रमगत रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यस अवसरमा रास्वपाले आफ्नो नीति, सिद्धान्त र भावी योजनाबारे जानकारी गराउँदै पारदर्शी शासन, सुशासन, जवाफदेही राजनीति र जनअपेक्षाअनुसारको विकास नै पार्टीको मुख्य लक्ष्य रहेको स्पष्ट पारेको थियो।
रास्वपाका अनुसार यस्ता घरदैलो कार्यक्रमहरूले जनताको वास्तविक समस्या बुझ्न र समाधानमुखी नीति निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने पार्टीले जनाएको छ।
ADVERTISEMENT

