काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ ।मन्त्रालयले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी मेलाको बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै श्रममन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गर्न लागेको प्रदेशस्तरीय मेला सुरुवात मात्रै भएको बताए । आगामी दिनमा मेलालाई जिल्ला, स्थानीय र वडासम्म पनि पुराउन सकिने बताए ।
मेलामा रोजगारीको खोजी गरी रहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारी सम्बन्धी सबै खालको जानकारी दिने व्यवस्था गरिएको बताए । ‘मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने, अवसरको कसरी पहिचान गर्ने भन्ने विषयमा जानकारी पाउन सक्नेछन् । त्यस्तैगरी रोजगारीको लागि आवश्यक सीपको बारेमा पनि जानकारी पाउने सकिनेछन्,’ उनले भने ।
मेला आगामी जेठ १७ देखि ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ । मेला हरेक प्रदेशमा २ दिन चल्नेछ । नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा डिजाइन गरिएको मेलाले रोजगार खोज्नेहरू र रोजगारदाताहरूबिच मध्यस्थताको काम गर्नेछ ।मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड लगायत विभिन्न खालका तालिम प्रदायक संस्थाहरुको पनि सहभागिता रहनेछ । साथै मेलामा सबै तहका श्रमिकको आवश्यकता र रोजगारदाताको आवश्यकताको विषयमा छलफल गरिनेछ ।

