काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि जापनिज राजदूत किकुता यूताकाबिच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा दुई पक्षीय श्रम सम्बन्धका विविध आयामका बारेमा छलफल भएको थियो । छलफलमा श्रममन्त्री अर्यालले वर्तमान अवस्थामा नेपाली युवाको लागि वैदेशिक रोजगारी बाध्यता भएको बताए । यसै सन्दर्भमा जापान नेपाली श्रमिकको लागि आकर्षण र सुरक्षित गन्तव्यको रूपमा धेरै नेपालीहरूको चासो रहेको पनि बताए ।
त्यसैले विगतमा नेपाल र जापानबिच कामदारहरू लैजाने सम्बन्धमा भएका सम्झौताहरूको कार्यान्वयनका लागि कार्यविधि बनाउने काम भइरहेको मन्त्री अर्यालले बताए । त्यस्तै, नेपाली श्रमिक नठगिने गरी न्यूनतम सेवा शुल्कमा डिजिटल प्रविधिको प्रयोग समेत गरी जापानी दूतावासको समेत समन्वयमा छिटो छरितो माध्यमबाट नेपाली कामदारहरू जापान पठाउने चाहेको उनले बताए ।
साथै मन्त्री अर्यालले आन्तरिक रोजगारीको उपयुक्त वातावरण सृजना गरी नेपालमा नै अवसरहरू उपलब्ध गराएर नेपाली युवालाई नेपालमा नै बसेर काम गर्न सक्ने अवस्था बनाउने नेपाल सरकारको प्राथमिकता रहेको बताए । यसका लागि रोजगारदाता र रोजगारीको खोजी गरी रहेका नेपालीबिच मध्यस्थताको काम गर्ने गरी सातै प्रदेशमा रोजगार मेला आयोजना गर्न लागिएको पनि जानकारी दिए ।

