
नेपालगञ्ज, बाँके । तिहारजस्तो महत्वपूर्ण चाडपर्वको समयमा नेपालगञ्जका प्रमुख चोकहरूमा ट्राफिक व्यवस्थापन प्रभावकारी हुन नसक्दा सर्वसाधारण नागरिकले आवतजावतमा सास्ती खेप्नुपरेको छ । बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल बढ्दै गए पनि प्रमुख चोकहरूमा ट्राफिक प्रहरी, नगर प्रहरी तथा अन्य सुरक्षा निकायको पर्याप्त र प्रभावकारी उपस्थिति नहुँदा सवारी आवागमन अस्तव्यस्त बनेको गुनासो बढेको छ । चाडपर्वको समयमा किनमेल, भेटघाट तथा अन्य कामका लागि बजार आउने नागरिकको संख्या उल्लेख्य रूपमा बढ्ने भए पनि सोहीअनुसार ट्राफिक व्यवस्थापन र सुरक्षा परिचालन हुन नसकेको देखिन्छ । विशेषगरी बजारका व्यस्त चोकहरूमा सवारीसाधनको चाप, अव्यवस्थित पार्किङ तथा पैदलयात्रीको आवागमन व्यवस्थापनमा चुनौती देखिएको छ । यसले ज्येष्ठ नागरिक, बालबालिका, महिला तथा सर्वसाधारण यात्रुलाई थप कठिनाइ उत्पन्न गरेको छ । यसैबीच, बाँके जिल्लाको उच्चस्तरीय बैठकबाट चाडपर्वलाई लक्षित गरी शान्ति सुरक्षा सुदृढ गर्ने, ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने तथा सामाजिक सद्भाव कायम राख्ने विषयमा विभिन्न निर्णयहरू गरिए पनि ती निर्णयहरूको कार्यान्वयन पक्ष कमजोर देखिएको भन्दै नागरिकस्तरबाट असन्तुष्टि व्यक्त हुन थालेको छ ।

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अम्बिका काफ्लेले आफ्नो स्टेटस मार्फत स्थानीय प्रशासनलाई आग्रह समेत गरेको देखिन्छ चाडपर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन बैठकमा भएका निर्णयहरू व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा त्यसो हुन नसक्नुले सम्बन्धित निकायको तयारी र कार्यसम्पादनमाथि प्रश्न उठाएको छ । स्थानीय नागरिक तथा सरोकारवालाहरूले नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी र सम्बन्धित सुरक्षा निकायलाई तत्काल सक्रिय हुन आग्रह गरेका छन् । बजारका मुख्य चोक तथा बढी भीडभाड हुने स्थानमा आवश्यक जनशक्ति परिचालन गरी सवारी आवागमन सहज बनाउने, अव्यवस्थित पार्किङ नियन्त्रण गर्ने, पैदलयात्रीको सुरक्षामा ध्यान दिने र शान्ति सुरक्षाको प्रत्याभूति गराउनुपर्ने उनीहरूको माग छ । चाडपर्वको समयमा नागरिकले सहज, सुरक्षित र भयमुक्त वातावरणमा आवतजावत गर्न पाउनु राज्यका सम्बन्धित निकायको दायित्व हो । त्यसैले बैठकमा गरिएका निर्णयहरू कागजमा सीमित नराखी तत्काल कार्यान्वयनमा ल्याउन आवश्यक देखिन्छ । समस्या देखिएपछि मात्र होइन, समस्या हुन नदिनु नै प्रभावकारी व्यवस्थापन हो। तिहारको समयमा नेपालगञ्जको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन र सहज आवागमन सुनिश्चित गर्न सम्बन्धित निकायले समयमै गम्भीरता देखाउन जरुरी छ । अन्ततः यो कुनै एक व्यक्तिको व्यक्तिगत आवाज मात्र नभई नेपालगञ्ज र समग्र बाँकेवासी नागरिकको साझा सरोकारको विषय हो। सम्बन्धित निकायले नागरिकको आवाजलाई गम्भीरतापूर्वक सुनी तत्काल आवश्यक कदम चाल्ने अपेक्षा गरिएको छ ।

