काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो एक सातामा कार्यालयबाट भएको प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सहसचिव तथा कार्यालयका प्रवक्ता हेमराज अर्यालले कार्यप्रगतिबारे जानकारी गराए ।पछिल्लो साता प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरे विषयसमेत समेटिएको उक्त विवरणमा राष्ट्रिय नीति एवं दस्तावेज निर्माण, लगानी बोर्डको कार्यप्रगति, सूचनाको हक र मानवअधिकारलगायतका विषयमा भएका प्रगति समेटिएका छन् ।यसै साता प्रधानमन्त्रीसँग भारतीय विदेशसचिव मिस्रीले गरेकाे भेटमा प्रधानमन्त्री शाहले नेपालमा हालैको भोटेकोशी बाढीपछि भारत सरकारले ‘फस्र्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री उपलब्ध गराएको तथा उद्धार टोली खटाएर पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
त्यसैगरी, यही कात्तिक १९ गते प्रधानमन्त्री शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् । प्रधानमन्त्रीले देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबिचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन पनि दिएका छन् ।नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्तदुरुस्त बनाउन उनले सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएको कार्यालयको भनाइ छ ।पछिल्लो साता राष्ट्रिय नीति एवं दस्तावेज निर्माणलाई स्तरीकरण एवं गुणस्तरीय बनाउने प्रयोजनार्थ नेपाल सरकारका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीलाई नीति तर्जुमा, नीति विश्लेषण तथा नीति परीक्षणसम्बन्धी तीनदिने तालिम प्रदान गरिएको छ ।
मानवअधिकारका समसामायिक विषयमा सरकारी, गैरसरकारी तथा सम्बन्धित सरोकारवाला संस्थाहरूले गरेका असल अभ्यास तथा कार्यको अनुगमन सोलुखुम्बु र ओखलढुङ्गामा यही कात्तिक १७ गते सम्पन्न भएको छ । मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन सम्बन्धमा अभिमुखीकरण कार्यक्रम कोशी प्रदेश, विराटनगरमा यही कात्तिक १८ गते सम्पन्न भएको छ ।प्रवक्ता अर्यालका अनुसार नवप्रवर्तन क्षेत्रमा संलग्न उद्यमीको लगानीलाई एकीकृत र सरलीकरणका लागि स्टार्टअप नेपाल पोर्टल (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी कार्यविधि, २०८३ को मस्यौदा तयार भएको र सो सम्बन्धमा बहुसरोकारवालाहरूसँग छलफल गरी पृष्ठपोषण प्राप्त गरिएको छ ।

