काठमाडौँ — नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रम अधिकारका विषयमा आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।महासंघ केन्द्रीय समितिको उपलब्ध सदस्यहरुको शुक्रबार बसेको बैठकले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस काउन्सिलसम्बन्धी अध्यादेश, पत्रकारको श्रम अधिकार र लोककल्याणकारी विज्ञापन कटौतीलगायतका विषयमा आन्दोलन गर्ने निर्णय गरेको हो ।
महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड समग्र पत्रकारिता क्षेत्रमाथिको प्रहार भएको ठहर गरेको छ । घटनाको स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको बैठकपछि महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश सरोकारवाला पक्षसँग छलफल नगरी एकपक्षीय रूपमा ल्याइएको भन्दै महासंघले सरकारसँग अध्यादेश फिर्ता लिन आग्रह गरेको छ । अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गर्ने निर्णय पनि बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ ।
गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यम र निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गर्ने, पारिश्रमिक नदिने तथा चाडबाड खर्चसमेत रोक्ने कार्यलाई महासंघले श्रम अधिकारको गम्भीर उल्लंघन भनेको छ । त्यस्तै, पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनबापत प्राप्त गर्दै आएको रकम कटौती गर्ने विषयमा प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।महासंघले वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको संरक्षणका लागि शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्चाल (पापड) लाई सक्रिय बनाउने निर्णय गरेको छ । आफ्ना मागबारे संसद्मा प्रतिवाद गर्ने वातावरण बनाउन सांसदहरूसँग बहस र पैरवी गर्ने तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने पनि विज्ञप्तिमा उल्लेख छ ।
ADVERTISEMENT

